ओलीको गृह नगर दमकमा ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियान शुरु
बिर्तामोड । नेकपा माओवादी केन्द्र दमकले ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियान सुरु गरेको छ । नेकपा एमाले अध्यक्ष केपी ओलीको गृह नगर दमकमा माओवादीले ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियान शुरु गरेको हो ।
पार्टीको महाधिवेशनपछि कार्यकर्तामा ऊर्जा ल्याउन, पार्टीको संगठन सुधार गर्न र जनताको समस्यालाई प्रत्यक्ष सहभागितामा समाधान गर्न यो अभियानको सुरुवात गरिएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए । ‘हाम्रो आधार श्रमजीवी र सर्वहारा वर्गका जनता हुन् । उनीहरूको समस्यामा हामी अघि सर्नुपर्छ । उनीहरूको समस्याबाट भागेर पार्टी कहीँ पुग्दैन,’ बस्नेतले भने, ‘त्यही कारण यो अभियानको सुरुवात गरेका हौँ । जनताका साना समस्यामा साथ दिनु हाम्रो दायित्व हो । पार्टीलाई वर्गीय महत्व राख्ने समस्या समाधान र कार्यक्रम निर्माणमा केन्द्रित गर्नेछौँ ।’
यस्तै, माओवादी केन्द्रले एक वर्षे कार्ययोजना नगर समिति बैठकबाट पारित गर्दै स्वास्थ्य, शिक्षा वा रोजगारसँग सम्बन्धित कुनै पनि सामाजिक काममा प्रत्येक वडाले परिणाम देखिने गरी नेतृत्व लिनुपर्ने वा सहयोग गर्नुपर्ने कामलाई अघि बढाएको छ । भौतिक पूर्वाधार, विकास निर्माणसँग सम्बन्धित कम्तिमा एक काम प्रत्येक वडाले सम्पन्न गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ । महिनामा प्रत्येक वडाले कम्तीमा एक सय घरमा घरदैलोको कार्यक्रम गर्नुपर्ने जसले माओवादीको संगठन सुदृढिकरणमा सहयोग पुग्ने अध्यक्ष बस्नेतले जानकारी दिए । ‘प्रत्येक महिना र वार्षिक रूपमा वडाहरूको कामको मूल्यांकन गरी पुरस्कृत गर्ने छौँ,’ अध्यक्ष बस्नेतले भने, ‘पार्टी कमिटीमा आवद्धलाई कार्यप्रगतिका मूल्यांकनसँग सम्बन्धित भएर हरियो, पहेँलो र रातो कार्डको व्यवस्था गरिनेछ ।’
माओवादीले दमकमा रहेको १० वटै वडामा एउटा वडामा कम्तीमा पाँचवटा टोल समिति निर्माण गर्ने उनले बताए । यसैबीच नेकपा माओवादी केन्द्र दमक नगर समितिले नगरका दश वटै वडामा वडा कार्यालय स्थापना गरेको छ । माओवादी केन्द्र दमक नगर समितिले आइतबार शहिद दिवसको अवसरमा भर्चुअल माध्यमबाट दशवटै वडा कार्यालय उद्घाटन गरेको अध्यक्ष बस्नेतले जानकारी दिए । माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले भर्चुअल माध्यमबाट एकैपटक दशवटा वडा कार्यालय उद्घाटन गरे । वडा कार्यालय उद्घाटन गर्दै मिक्सोले पार्टीका स्थानीय तहका कमिटीलाई चुनाव केन्द्रित भएर काम गर्न निर्देशन दिए । उनले जनताका स–साना समस्या बुझेर काम गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका हुन् । +