बिर्तामोडमा फ्लाई ओभर र अण्डरपास बनाउनु पर्छ : राजेन्द्र प्रसाद लिङ्देन

मेची अञ्चलको प्रमुख व्यापारीक शहर बिर्तामोड दिनानुदिन व्यस्त बन्दै गएको छ । व्यापार व्यवसाय बढेसँगै सडकमा समेत चाप बढ्दो छ । साँघुरो सडक, पार्किङ स्थलको अभाव र बीच शहरमा अवस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गका कारण पछिल्लो समय ट्राफिक जाम बढ्दो छ । किनमेल गर्न आउने पैदल यात्रीका लागि सडक पार गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । बढ्दो शहरीकरण, बसाईसराई गरेर आउनेको बढ्दो क्रम, निर्माण व्यवसायमा भारतीय मजदुरको बाक्लो उपस्थिती, नजिकै रहेको भारतीय खुला सिमाना आदिका कारण सुरक्षा चुनौती समेत बढिरहेको छ । नेपाली राजनीतिमा महत्वपूर्ण योगदान रहँदै आएको झापाको बिर्तामोड धेरैको आकर्षणको केन्द्र बन्दै गएको छ । बिर्तामोडको मुख्य बजार रहेको भूभाग बिर्तामोड नगरपालिकाको वडा नम्बर ४ र ५ दुई वडामा विभाजित छ । यसै सन्दर्भमा वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनसँग परिवेश मिडियाले गरेको कुराकानी प्रस्तुत गरिएको छ :
हिजो आज के मा व्यस्त हुनुहुन्छ <
वडा नम्बर ५ बिर्तामोडको व्यस्त र धेरै जनघनत्व भएको क्षेत्र हो । दैनिक जसो विभिन्न गुनासो, समस्या, सिफारिस आउँछन् तिनै बिषयहरुमा काम गर्दा गर्दै समय बित्छ । यहाँ धेरै विकास निर्माणका कामहरु छन् । निरीक्षण र अनुगमनमा पनि जानु पर्छ, समय त्यसै जान्छ ।
चुनावको समयमा बिर्तामोडमा ओभरहेड ब्रिज बनाउने तपाईहरुको चुनावी घोषणा पत्रमा उल्लेख गर्नु भएको थियो । तर, तपाईहरुको कार्यकाल सकिन लाग्दापनि त्यो काम शुरुवात गर्न नसक्नुको कारण के हो <
बिर्तामोडको मुख्य चोकको सडक व्यस्त बन्दै गएको र पैदल यात्रीलाई बाटो काट्न सकस परिरहेकाले ओभरहेड ब्रिज बनाउने योजना राख्यौँ । तर पूर्व पश्चिम महेन्द्र राजमार्गलाई एशियन हाइवे बनाउने योजना आएकाले ओभरहेड ब्रिज बनाउन असम्भव जस्तै बन्यो । फेरी अन्य स्थानको ओभरहेड ब्रिज सेल्फी स्पट जस्तो मात्र बनेको देखियो । त्यसैले एशियन हाइवे बन्यो भने बिर्तामोडको मुख्य शहरभित्र फ्लाई ओभर र प्राविधिक हिसाबले सम्भव हुने भयो भने अण्डर पास बनाउनु पर्छ भनेर सुझाव राखेका छौँ ।
पूर्वाधार निर्माणलाई कति प्राथमिकतामा राख्नु भएको छ <
हाम्रो वडा भित्रका अधिकांश छोटा बाटाहरुमा नाला निर्माण तथा पेभर्स लगाउने काम धेरै मात्रामा सकिएको छ । अन्य भौतिक निर्माणमा उल्लेख्य काम भएका छन् । एकै बर्ष ५ करोड २१ लाख रुपैँयासम्म जनसहभागिताबाट मात्र काम भएको छ । विद्युतका पोल गाड्न बाँकी खासै छैन । स्वास्थ्य चौकी ढिलै भएपनि निर्माण शुरु भएको छ ।
बुधबारे बजारस्थित कृषिथोक बजारलाई व्यवस्थित गर्न के गर्दै हुनुहुन्छ <
सबैभन्दा पहिला त करिब एक दशकदेखि नेतृत्वविहिन रहेको कृषिथोक बजार व्यवस्थापन समितिले नेतृत्व पाएको छ । कोल्ड सेन्टर निर्माणको प्रक्रिया अगाडि बढाएका छौँ । त्यसको पच्चीस प्रतिशत बजारले व्यवहोर्ने गरी करिब २ करोड रुपैँया बजेट आइसकेको छ । बाँकी बजार व्यवस्थापनका लागि मास्टर प्लान बनिरहेको छ । भारतीय बजारबाट त्यतिकै सागसब्जी भित्रिने गरेकोमा अहिले बिषादी जाँचको व्यवस्था भएको छ । बिषादीयुक्त फलफूल तथा तरकारी बिक्रीमा रोक लगाएका छौँ ।
कार्यकालको अन्तिम समयमा के काम चाँहि गर्नै पर्छ भन्ने लागेको छ <
हर्कलाल गिरी मार्ग, धर्मकाँटा रोड, कन्काई रोड र शनिश्चरे रोडदेखि नयाँ बसपार्क जाने लामो बाटो पूरा गर्नुपर्छ भन्नेमा छौँ ।
वडाध्यक्ष भएर मैले यति गर्छु भन्ने सोँच पूरा भए जस्तो लाग्छ <
सोँचे जति काम गर्न सकिएन । समय अभावका कारण सबै काम पूरा भएनन् । पहिलो बर्ष सिकाईको बर्ष रह्यो भने कानुन अभावका कारणपनि काम गर्न पाइएन । नगरपालिकाले कानुन निर्माण गरेपछि दोस्रो बर्षदेखि मात्र काम शुरु भयो । राम्रो कामको शुरुवात भएको छ । आफ्नो ठाउँको विकास गर्नुपर्छ भन्ने मानसिकता विकास भएको छ । वडा कार्यालयको आफ्नै भवन बनाउनु पर्छ भन्ने सोँच्दा सोँच्दैपनि गर्न पाइएन ।
दलीय प्रतिनिधीभन्दा माथि उठेर वडाध्यक्षको ठाउँमा बसेर हेर्दा कसरी काम गरेँ भन्ने लाग्छ <
सबै दललाई समेटेर टोलको गठन गरेका छौँ । कसैलाई दलीय आँखाबाट हेरिएन । हामीप्रति वडाबासीले पनि सामूहिक अभिभावकको रुपमा हेरिदिनु भयो । त्यसको लागि सबै वडाबासीलाई सम्मान व्यक्त गर्न चाहन्छु । हामीले गरेको काममा सबै वडाबासीको सहयोग छ ।
बिर्तामोड नगरपालिकाका अन्य वडाभन्दा बढी काम भएको भनेर भनिने गरेको तपाईको वडामा प्रतिनिधीहरु बिच कसरी काम बाँडफाँड गर्नु भएको छ <
हामीले काम बाँडफाँड गरेरै गरेको भएरपनि धेरै काम गर्न सहज भयो । हामीले मुख्य कामलाई पूर्वाधार विकास, न्याय तथा खेलकुद र सामाजिक विकास भनेर बाँड्यौँ । पूर्वाधार विकास सदस्यहरु लक्ष्मी बास्कोटा र भावना घिमिरेले संयोजन गर्नु भयो । न्याय तथा खेलकुद डिआर कडरिया र सामाजिक विकास हर्कमाया विश्वकर्माले हेर्नु भयो । काम बाँडेर गर्दा सजिलो भएको छ ।
अन्त्यमा केहि भन्न चाहनु हुन्छ <
बिर्तामोडमा सुरक्षा चुनौतीलाई मध्यनजर गरेर बसपार्कसम्म सिसि क्यामेरा जडान गर्ने कार्यको शुभारम्भ हामीले गर्यौँ । जनघनत्व बढी भएको र मानिसको चहलपहल अत्यन्तै बढी भएकाले सुरक्षा चुनौती छ । यस बिषयमा सुरक्षा अधिकारीहरुसँग समन्वय भएपनि सोँचे जस्तो भईरहेको छैन ।
अन्त्यमा वडाले गरेका कामहरुमा वडाबासीले गर्नु भएको सहयोग र योगदानप्रति कृतज्ञ छौँ । वडाको योजनाहरुमा नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको सहयोगलाई धन्यबाद भन्न चाहन्छु ।