सुनसरीमा झडप हुँदा एक युवकको मृत्यु, प्रशासनद्वारा निषेध आदेश जारी
बिर्तामोड । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप भएको छ ।गएराति साढे १० देखि सुरु भएको झडपमा एक जनाको मृत्यु भएको छ ।
कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको डीएसपी खड्काले बताए । सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले ७ राउण्ड गोली चलाएका थिए । मेहतालाई कुन हतियारबाट गोली लागेको भन्ने यकिन भैसकेको छैन ।
झडप हुँदा प्रहरीका इन्स्पेक्टर राकेश राई सहित १० जना प्रहरी र ५ जना सशस्त्रका सुरक्षाकर्मी घाइते भएका छन् । कप्तानगञ्ज स्थित मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिमको बिचमा विवाद सुरु भएको थियो ।
त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दुको झण्डा राखेको विषयमा विवाद थप चर्किएको सुरक्षा अधिकारीहरू बताउँछन् । झडपमा परेर ९ जना स्थानीय घाइते भएका छन् ।
यसैबीच दुई गाउँपालिकामा स्थानीय प्रशासनले ५ जना भन्दा बढी मानिस भेला हुने नदिने गरी निषेध आदेश जारी गरेको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सुनसरीको हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकामा निषेध आदेश जारी गरेका हुन् । निषेध आदेश सोमबार ७ बजेदेखि साँझ ७ बजेसम्म लागु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, स्थानीय प्रशासनले सुनसरीका ४ वटा बजारमा कर्फ्यु लगाएको छ । हरिनगरा बजार, घुटाहा बजार, कप्तानगन्ज, घुस्की र देवानगन्ज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।