उपप्रमुख संग्रौलाले ‘क्षमायाचना’ गर्नुपर्ने राप्रपाको माग
बिर्तामोड । सामाजिक सञ्जाल फेसबुकमा बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेको कमेन्टबाट उत्पन्न परिस्थिती पश्चात संग्रौलाले ‘क्षमायाचना’ गर्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ ।
सोमबार नगर प्रमुख पवित्रादेवि महतारा प्रसाईलाई ज्ञापन पत्र बुझाउँदै संग्रौलाले सामाजिक सञ्जालबाटै बिर्तामोडबासी समक्ष क्षमायाचना गर्नु पर्ने राप्रपाले माग गरेको हो । राप्रपाले नगर प्रमुख प्रसाईलाई चार बुँदे ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा उपप्रमुख र वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीलाई सहमतिमा ल्याउन यथासक्दो प्रयास गर्नुपर्ने, उपप्रमुख संग्रौलालाई विद्युतीय कारोबार ऐनमा भएको व्यवस्था बमोजिम सम्बन्धित निकायबाट कारबाहीको दायरामा ल्याउनु पर्ने र यस अघि राप्रपाले बिर्तामोडको समस्याहरुको सम्बोधनका लागि बुझाएको २८ बुँदे ज्ञापन पत्र सम्बोधन हुनुपर्ने माग उल्लेख गरेका छन् ।
राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको संयोजकत्वमा गएको टोलीले प्रसाईलाई ज्ञापन पत्र बुझाएको हो ।
केहि दिन अघि नगर कार्यपालिकाको बैठकको सहभागिताको बिषयलाई लिएर एक व्यक्तिले लेखेको फेसबुक स्टाटसमा नगर उपप्रमुख संग्रौलाले ८ नम्बर वडाध्यक्ष कार्कीलाई लक्षित गर्दै नागरिकता बेचुवा भनेर कमेन्ट गरेपछि उपप्रमुखको कार्यकक्षमै हात हालाहालको स्थिती सिर्जना भएको थियो ।

