मेयरमा पराजित न्यौपाने बनिन् सामान्य प्रशासन मन्त्री
झापा । २०७४ सालको स्थानीय निर्वाचनमा भानु नगरपालिकामा मेयर हारेकी भगवती न्यौपाने राष्ट्रिय सभा सदस्य हुँदै अहिले सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छिन् । पर्साबाट निर्वाचित राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि न्यौपानेलाई प्रधानमन्त्री केपी ओलीले मन्त्री पद जिम्मा लगाएका हुन् ।
पराजित भए पनि पार्टीको सिफारिसमा निरन्तर अवसर पाइरहने व्यक्तिमा पर्छिन् उनी । न्यौपाने २०७६ को निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा विजयी भएकी हुन् । तत्कालीन समयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एउटै थियो ।
राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि उनी पार्टीको तर्फबाट सचेतक छिन् । उनै न्यौपाने अहिले सामान्य प्रशासन मन्त्री नियुक्त भइन् । प्रत्यक्ष निर्वाचनमा पराजय भोगे पनि उनलाई साढे २ वर्षपछि एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनायो । तत्कालीन नेकपाको गठबन्धनका कारण उनले सहजै चुनाव जितिन् ।
न्यौपाने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र हुन् । त्यसो त, उनको राष्ट्रिय सभा सदस्य पदको आयु केही महिना मात्र बाँकी छ । फागुनमा सांसद पदबाट बिदा हुनुअघि उनले सामान्य प्रशासन मन्त्रीको शक्तिशाली जिम्मेवारी पाएकी हुन् । उनी दसौँ महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्य बनेकी थिइन् । अब राष्ट्रिय सभा सदस्यका रूपमा उनको कार्यकाल आगामी फागुनसम्म मात्र छ । त्यतिन्जेल सिंगो कर्मचारीको तालचाबी उनको जिम्मामा आएको हो ।