बिर्तामोड ९ : दुई जनप्रतिनिधी विदेशमा, वडाध्यक्ष सुधार केन्द्रमा
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ को जिम्मेवारी दुई जना जनप्रतिनिधीले बहन गरिरहेका छन् । अन्य जनप्रतिनिधी नहुँदा सिंगो वडाको काम दुई जनाले गर्नु परेको हो ।
वडाध्यक्ष हरिप्रसाद चम्लागाईलाई सुधार केन्द्र भर्ना गरिएको छ । अत्यधिक मादक पदार्थ सेवन गरेका कारण चम्लागाईलाई कमल गाउँपालिकास्थित एक सुधार केन्द्रमा भर्ना गरिएको स्रोतले बताएको छ । चम्लागाईलाई यस अघिपनि पटक पटक सुधार केन्द्र भर्ना गरिएको स्थानीयले बताएका छन् ।
अन्य वडा सदस्यहरु केशव बुढाथोकी र चन्द्रप्रसाद दंगाल विदेश गएका छन् । उनीहरु वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएको बताइएको छ ।
वडाध्यक्षलाई सुधार केन्द्र भर्ना गरिएपछि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी संगीता शिवाले निर्वाह गरिरहेकीछन् । शिवासँगै अर्की वडा सदस्य सल्पना राजवंशीले वडाबासीको काम गरिरहेका छन् ।
दुई जना जनप्रतिनिधीले सिंगो वडाको काम गर्नुपर्दा काम राम्रो नभएको भन्दै वडाबासी रुष्ट छन् । भौगोलिक हिसाबले ठूलो वडा भएको र जनप्रतिनिधी कम हुँदा जनताको काममा प्रत्यक्ष असर परिरहेको उनीहरुको गुनासो छ