२०८३ बैशाख १९ गते , शनिबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जसपा
बिर्तामोड । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थनबारे चाँडै संसदीय दलको बैठकले निर्णय गर्ने बताएका छन् । कार्यकारिणी समितिको बैठकले निर्देशन दिएको भएपनि दलको बैठकले अहिलेसम्म निर्णय नगरेको बताए ।
उनले भने, ‘कार्यकारिणी समितिको बैठकले संसदीय दललाई निर्देशन दिएको हो । अब संसदीय दलको बैठक बसेर निर्णय गर्छ । अहिलेसम्म भएको छैन। चाँडै गर्छौँ ।’
सरकार गठन हुँदाको बाचा एक वर्षसम्म पनि केही पूरा गर्न नसकेको आरोप लगाए । दुई ठूला पार्टी मिलेर बनेको सरकारले मुलुकलाई गति दिन नसकेको, जनतालाई डेलिभरी दिन नसकेको अध्यक्ष यादवको बुझाइ छ ।
सरकारले प्रतिबद्धता अनुसार सुशासन, संविधान संशोधन, अर्थतन्त्रमा सुधार, भ्रष्टाचार नियन्त्रणको काम गर्न नसकेको बताए ।