पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश
झापा । पत्रकार दिलभूषण पाठकलाई असार ५ गतेसम्म पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
साइबर कसुरमा जिल्ला अदालत काठमाण्डौको अनुमतिमा जारी भएको पक्राउ पुर्जी रोक्न माग गर्दै पाठकले दिएको निषेधाज्ञाको निवेदनमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश ऋषि राजभण्डारीको इजलासले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ गते उपस्थित हुन भनेको उच्च अदालत प्रशासन स्रोतले जानकारी दियो । त्यो बेलासम्म उनलाई पक्राउ नगर्न आदेश दिएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गरेको बिषयमा युट्युब च्यानलमार्फत सामाग्री प्रसारण गरेपछि पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पाठकले निराधार कपोकल्पित ढंगले आफ्नो चरित्र हत्या गर्ने नियतका साथ सामग्री बनाएर युट्युबमा अपलोड गरेको भन्दै जयवीरले उजुरी दिएका छन्।
त्यस कसुरमाथि अनुसन्धानका लागि भन्दै साइबर ब्युरोले पक्राउका लागि अनुमति लिएको हो । उनी विरुद्ध जारी भएको पक्राउ पुजी रोक्न प्रेससँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले माग गरेका छन् । उनीहरुले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।