जातीय मोर्चाको राष्ट्रिय सम्मेलन आज, अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने
बिर्तामोड । पहिचानसहितको प्रदेश नामाकरण हुनु पर्ने माग गर्दै आएको जातीय मोर्चाको राष्ट्रिय सम्मेलनको आज उद्घाटन हुँदैछ । झापाको कमल–५ स्थित रिभर भ्यू पार्टी प्यालेसमा हुने सम्मेलनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलन उद्घाटनका लागि अध्यक्ष प्रचण्ड काठमाण्डौबाट विराटनगर हुँदै झापा आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिए । प्रचण्ड विहान ९ बजे विराटनगर आउने र १२:४५ बजे सम्मेलन स्थलमा आइपुग्ने उनले बताए ।
कोचिला राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झागड राष्ट्रिय मुक्ति मोर्चा र मेचे राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन संयुक्त रुपमा उद्घाटन गर्न लागिएको हो ।