कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित
बिर्तामोड । कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबारको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित गरेको हो ।
बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारित गर्नेसम्बन्धी प्रस्ताव पेश गरेका थिए । सभामुख अम्बरबहादुर विष्टले मुख्यमन्त्रीको प्रस्ताव ध्वनी मतका आधारमा बहुमतले पारित भएको घोषणा गरे ।
कोशी प्रदेशमा कांग्रेस–एमालेको दुईतिहाइ बहुमतको सरकार छ । नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
उनले प्रदेशको दीर्घकालीन हितलाई समेटेर नीति तथा कार्यक्रम तयार पारिएको दावी गरे । ‘कतिपय नीति सर्वकालीन हुन्छन्, कति फेरिन्छन्,’ उनले भने,‘हामीले पहिलाको भन्दा फरक ढंगले, भिन्न ढंगले संक्षिप्त बनाउन चाह्यौं । संक्षेपमा सबै विषयलाई समेटेर केही महत्वपूर्ण प्रोग्रामलाई संघ र अरु क्षेत्रसँग सहकार्य गर्ने भनेका छौं ।’