६८ जना यात्रु र चार जना चालक दलका सदस्य सवार यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना
काठमाण्डौ । पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।
२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो ।
आज जहाज उडाइरहेका क्याप्टेन अनिल केसी समेत अनुभवी पाइलट हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नु पर्ने थियो ।
जहाज दुर्घटनाको कारण अझै नखुलेको त्रिभुवन विमानस्थलस्थित उद्धार तथा राहत केन्द्रले जनाएको छ ।
यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।
आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन् ।