मलाई सबै पार्टीको भोट आउँछ : स्वतन्त्र उम्मेदवार भट्टराई
बिर्तामोड । झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवार बनेका कुमार भट्टराईले आफूलाई सबै दलका मतदाताले भोट हाल्ने बताएका छन् । सोमबार भट्टराईको सचिवालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन् ।
भट्टराईले आफू पृथक परिवेशबाट उम्मेदवार बनेको बताउँदै सबै दलका मतदाताले मत हाल्ने बताए । झापा क्षेत्र नम्बर २ का सीके प्रसाईलगायत थुप्रै प्रजातन्त्रवादीहरुको आफूले प्रतिनिधित्व गरेको बताए । भट्टराईले हिजोका दिनमा अधिकांश व्यवसायी, असाह्य, अपाङ्गलगायतको समस्यामा आफु सरिक भएकाले उनीहरुले मत दिने उनको भनाई थियो ।
म जस्तै मनपनि सफा राख्छु, भ्रष्टाचार गर्दिनभन्ने मूल नारा बनाएका भट्टराईले गठबन्धन दल वा नेकपा एमालेसँग आफ्नो कुनै टिप्पणी नभएको बताए । उनले तयार पारेको प्रतिबद्धता पत्रमा कुनै पद र शक्तिको दुरुपयोग गर्दिन, विधिको शासनभन्दा बाहिर गएर कुनैपनि निकाय र कर्मचारीलाई दबाब दिन्न, महत्वपूर्ण मुद्दामा संवाद र छलफल गरी स्पष्ट दृष्टिकोण राख्छु, कुनैपनि मुद्दामा दोहोरो चरित्र प्रदर्शन गर्दिनलगायत १६ वटा आकर्षक बुँदा समेटिएको छ ।
उनले अन्य स्वतन्त्र उम्मेदवारहरु केहि महिना चुनावका लागि आएको र निर्वाचनपछि आफ्नो कार्यक्षेत्रमा फर्कने बताए ।