संयुक्त गठबन्धनको जिल्ला स्तरीय प्रचार समिति गठन
बिर्तामोड । लोकतान्त्रिक-बाम गठबन्धनको झापा जिल्ला स्तरीय प्रचार समिति गठन भएको छ । बुधबार संयुक्त संयन्त्र झापाको आयोजनामा विर्तामोडमा सम्पन्न पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन झापाकि अध्यक्ष इन्दु पूर्वेलीको संयोजकत्वमा जिल्ला स्तरीय प्रचार-प्रसार समिति गठन गरेको हो ।
लोकतान्त्रिक बाम गठबन्धनमा आबद्ध राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको शुभेच्छुक पत्रकार संगठनका पत्रकारहरुको भेलाले पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचार-प्रसार समिति गठन गरेको हो ।
गठित समितिको सहसंयोजकद्वय प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी र समाजवादी प्रेस संगठनका अध्यक्ष अनिलदेव राई रहेका छन् भने सचिवमा पुष्प खड्का रहेका छन् । समितिका सदस्यहरुमा मुक्ति पौडेल, कृष्ण हुमागाई, लीलाराज झापाली, सन्तोष शर्मा र गिरिराज भट्टराई रहेका छन् ।
संयन्त्रले झापाका पाँचवटै क्षेत्रमा गठित संयुक्त गठबन्धन दल क्षेत्रीय प्रचार-प्रसार समितिसँगको समन्वयमा निर्वाचनलाई सभ्य, भब्य र निष्पक्षरुपमा सम्पन्न गर्दै गठबन्धनको पक्षमा मत परिणाम ल्याउने गरी प्रचारप्रसारलार्ई तीब्र बनाउने जनाइएको छ ।
यसैगरी सो भेलाले साहित्यमार्फत पनि गठबन्धनका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले साहित्यकार पुण्यप्रसाद खरेलको संयोजकत्वमा जिल्लास्तरीय साहित्यिक संयन्त्रपनि गठन गरेको छ । गठित समितिको सहसंयोजकमा रश्मिशेखर सुवेदी रहेका छन् । दुई सदस्यीय उक्त समितिले आवश्यकता अनुसार क्षेत्रगत प्रतिनिधित्व हुनेगरी सदस्यहरु थप गर्ने जनाइएको छ ।
लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापाका संयोजक एवम नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले नवगठित समितिलाई बधाई तथा शुभकामना दिदै पत्रकारहरुको पेशागत मर्यादा कायम राखेर अग्रगमन र प्रतिगमनबीचको चुनावी प्रतिष्पर्धामा अग्रगमनका पक्षमा कलम चलाउन आम पत्रकारहरुलाई आग्रह गरे ।
संयन्त्रका सचिव राजु आचार्य (अग्नी)ले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा पत्रकारहरु गोविन्दचन्द्र छेत्री, लोकराज ढकाल, कृष्ण हुमागाई, राजेन्द्र गौतम, गिरिराज भट्टराई, लीलाराज झापाली, सन्तोष शर्मा, उद्वव पुरी, विनोद पाण्डे लगायतले विभिन्न सुझावहरु राख्दै निर्वाचनका समयमा पत्रकारहरुको झन् बढी जिम्मेवारी हुने उल्लेख गर्दै पत्रकार आचारसंहिता र पेशागत मर्यादाको पालना जरुरी रहेको धारणा राखे । समाचारमा सन्तुलन जरुरी रहेको टिप्पणी गर्दै अधिकांश बक्ताहरुले पार्टीको मुखपत्र घोषणा गरिए मात्रै दल बिशेषका समाचार लेख्न पाइने अन्यथा आचारसंहिता बिपरित हुने हुँदा आचारसंहिता पालनामा जोड दिएका थिए ।
भेलामा नेकपा एसका झापा अध्यक्ष बेदराज रेग्मी, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, केन्द्रीय सदस्य सुशिला संग्रौला लगायत अग्रज र क्रियाशील पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।