२०८३ बैशाख १९ गते , शनिबार
बिर्तामोडको माँ पाथिभरा भेराइटिजमा आगलागी
बिर्तामोड । बिर्तामोडको होटल हिकोला हेरिटेजसँगै पश्चिमपट्टि रहेको मार्केटभित्रको माँ पाथिभरा भेराइटिजमा आगलागी भएको छ । सोमबार बिहान १०:३० देखि भएको आगलागी नियन्त्रणमा आइसकेको छ ।
रोशन बिष्टले संचालन गरेको ब्याग पसलमा सोमबार मार्केट बन्द रहेको अवस्थामा छिमेकी पसलको ब्यक्तिले धुँवा आएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयबासीको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।
विद्युत सर्ट भएर आगो लागेको आशंका गरिएपनि एकिन कारण भने खुल्न सकेको छैन । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।