बिर्तामोडको समस्याको बारेमा जानकार छु - हरिकुमार राना
बिर्तामोड । झापा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक-वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा साझा उम्मेदवारी दिएका हरिकुमार रानाले आफू बिर्तामोडमा रहेको समस्याको बारेमा राम्रो जानकार रहेको बताएका छन । रानाले मंगलबार बिर्तामोडमा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै छिमेकी नगर अर्जुनधाराको नगरप्रमुख भएर काम गरिसकेकाले बिर्तामोडको समस्याका बारेमा पनि आफू जानकार रहेको बताएका हुन ।
बिर्तामोडको फोहोरमैला, ढल निकास, अव्यवस्थित शहरीकरणलगायत थुप्रै समस्याका बारेमा आफुलाई जानकारी भएको र ती समस्याको बिषयमा बिज्ञसँग परामर्श शुरु गरेकोसमेत रानाले बताए । फ्लाइ ओभर वा अण्डरपासको ब्यवस्था गरि यहाँको ट्राफिक जाम हटाउन सकिने रानाले बताए ।
उनले नेकपा एमाले अब एमाले नरहेर बा फाउण्डेसन भएको बताउँदै फरक मत राख्नेहरुलाई फाउण्डेसनले किनारा लगाउने गरेको बताए । अहिलेको पाँच दलीय गठबन्धन फाउण्डेसन पिडितहरुका लागि ठूलो अस्पताल भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवम संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले केपी ओलीले संविधानको मर्म बिपरित संविधानको अपब्याख्या गर्न खोजेको बताए । उनले संविधानसभा विघटन गरि आफ्नो नेतृत्वमा निर्वाचन गराउन चाहेकोपनि शिवाकोटीले जानकारी गराए । उनले अहिले एमाले र राप्रपालाई इङ्गित गर्दै तानाशाही शक्तिहरु एक ठाउँमा उभिएको आरोप लगाए । पूर्व राजा ज्ञानेन्द्रले राप्रपालाई उचालेर निरंकुश शासन गर्न चाहेको र यो एमालेको राप्रपासँगको तालमेल नभइ राजावादीसँग तालमेल भएको बताए । उनले नेपाली कांग्रेसले ६० बर्षसम्म राजतन्त्र बोकेर हिडेको स्मरण गर्दै राजतन्त्र संवैधानिक हुनै नसक्ने ठोकुवा गरे ।
नेता शिवाकोटीले यो गठबन्धन संविधान रक्षाको लागि अहिलेको आवश्यकता रहेको भन्दै आफ्ना कार्यकर्ता तथा मतदाताहरुलाई गठबन्धन दलका साझा उम्मेदवारहरुलाई भोट हालेर जिताउन आग्रह गरे ।