भूमिहिन सुकुम्बासी, हात्ती पिडितलगायतको समस्या समाधानका लागि मेरो उम्मेदवारी- हरिकुमार राना
बिर्तामोड । झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक-वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिएका हरिकुमार रानाले भूमिहिन सुकुम्बासी, हात्ती पिडित, खोला किनाराबासी लगायत पिडित जनताहरुको समस्याको लागि आफुले उम्मेदवारी दिएको बताएका छन । आइतबार झापाको लक्ष्मीपुरस्थित बिपी पुस्तकालय तथा सहारा साकोस ज्येष्ठ नागरिक चौतारीमा आयोजित लोकतान्त्रिक बाम-गठबन्धन प्रदेश र संघीय उम्मेदवारको परिचयात्मक तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै रानाले त्यस्तो बताएका हुन ।

आफूले लामो समय जनप्रतिनिधि भएर काम गर्दा जनताका थुप्रै समस्या पहिचान गरेको ती समस्याको समाधान संघबाट समाधान हुने भएकाले ती समस्या समाधानका लागि आफूले साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिएको बताए । 'भूमिहिन सुकुम्म्बासी, खोला पिडित, खोला किनाराबासी, हात्ती पिडितलगायत थुप्रै समस्याहरु छन,' रानाले भने,'ती समस्या समाधान स्थानीयस्तरबाट समाधान नहुने भएकाले संघीय सांसदको लागि उम्मेदवारी दिएको छु ।'
आफू नगरप्रमुख भएर काम गर्दा तलको समस्या यहाँ काम गरेकालाई मात्र थाहा हुने र माथिकाले ती समस्या नबुझ्ने बताए । तलको अधिकार माथिकालाई थाहा नहुने, थुप्रै ब्यवस्थित ऐन बन्न बाँकी रहेकोसमेत रानाले बताए । झापा विशेष गरि दुई नम्बर क्षेत्र सचेत नागरिकहरुको बसोबास भएको क्षेत्र भएको बताउँदै रानाले मतदाता अब हावादारी गफको पछाडि नलाग्ने बताए । उनले गठबन्धन दलका नेता कार्यकर्ताहरुलाई घरदैलो कार्यक्रममा जुट्न आग्रहसमेत गरे ।
प्रदेश संसदका लागि उम्मेदवारी दिएका पुष्पराज पोखरेलले लामो समयदेखि बिरिङ खोलाको कटानको समस्या रहेको र त्यसको उचित ब्यवस्थापन, फोहोरको ब्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माण आदिमा उल्लेख्य र ब्यवहारिक काम गर्न आफुले उम्मेदवारी दिएको बताए ।
पोखरेलले यो निर्वाचनबाट राजतन्त्रवादी र गणतन्त्रवादीको देखावटी तालमेल ध्वस्त पार्नुपर्नेमा जोड दिए । दशकौ लगाएर निर्माण गरेको संविधान केपी ओलीले मण्डलेको गोजिमा पुर्याउने काम गरेकाले बिद्रोह गर्नुपरेको सुनाए । जिताएर पठाए मतदाताको शिर उचो राख्ने काम गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।
त्यस्तै लोकतान्त्रिक-वाम गठबन्धनका निर्वाचन परिचालन मुल समिति संयोजक नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानको अपब्याख्या गर्दै राष्ट्रपतिलाई समेत मुछेर संविधानको आफुअनुकूल व्याख्या गर्न खोजेको बताए । ओलीले
संघलाई कुनै अधिकार नदिएको र संविधानमा भएको अधिकार समेत आफैले राखेकाले संघीयता अलि कमजोर जस्तो भएको शिवाकोटीले बताए । उनले संविधान रक्षाकालागि गणतन्त्रवादी दलहरुले गठबन्धन गरेर एक ठाउँमा उभिनु परेको स्पष्ट पारे ।
शिवाकोटीले अन्य दलमा जस्तो नेपाली कांग्रेसमा गुनासो नरहेकाले सबै एकमना भएर अघि बढ्नु पर्नेमा जोड दिए । कृयाशिल सदस्यको फारम भर्दा केन्द्रको निर्णय हरहालतमा मान्ने भनेर हस्ताक्षर गरेकाले कसैलाई तलमाथी गर्ने छुट नभएको उनले स्मरण गराए ।