झापा–२ मा घिमिरेलाई सकस, रानाको पल्ला भारी
बिर्तामोड । यतिबेला मुलुकमा चुनावी गर्मी बढेको छ । उम्मेदवारी दर्तासँगै चुनावी माहौल तातेको हो । मुलुकको राजनीतिक परिवर्तनमा मुख्य भूमिका खेल्ने झापामा दलहरुबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ ।
दलहरु बिच टिकट बाँडफाँडमा निकै सकस भोगेको झापामा चुनावी माहौल निकै बढेको छ । झापा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्तासम्म आइपुग्दा उम्मेदवारहरुले रोचक इन्ट्री मारेका छन् । झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा उम्मेदवारी दिने तयारीका साथ महान्यायाधिवक्ता छाडेर बिर्तामोड आएका अग्नी खरेललाई अन्तिममा २ नम्बर क्षेत्र छोडाएर क्षेत्र नम्बर १ मा पठाइयो । उनलाई पवित्रा निरौला खरेललाई व्याक गराउने पूर्व तयारी स्वरुप चुनाव हुने निधो हुनुभन्दा धेरै अगाडी झापा पठाइएको थियो । खरेलले बिर्तामोडमा स्थायी बसोबास नै शुरु गरेर चुनावी गतिविधी तीब्र बनाएका थिए । अन्ततः खल्लो मन बनाएर १ नम्बर क्षेत्र जान बाध्य भए । यता नेकपा एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिएका पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरे क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् ।
यता गठबन्धन दलहरुबिच सिट बाँडफाँडमा निकै रस्साकस्सी पश्चात नेकपा माओवादी केन्द्रको भागमा परेको झापा क्षेत्र नम्बर २ मा फिल्मी शैलीमा ३१ बर्षे लामो नेकपा एमालेको सदस्यता त्यागेर स्वतन्त्र उम्मेदवारको रुपमा अर्जुनधारा नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिकुमार रानाले माओवादीको चुनाव चिन्हमा चुनाव लड्दैछन् । एमालेभित्र स्वच्छ छवि बनाएका राना पार्टीले अवसर नदिएपनि जनताले अवसरका लागि पठाएको भन्दै गठबन्धन दलसम्म आइपुगेका छन् । पार्टी गन्तव्यभन्दा फरक दिशातर्फ अगाडी बढेकाले आफू स्वतन्त्र भएको र साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिएको उनले बताउँदै आएका छन् ।
यतिबेला क्षेत्र नम्बर २ को चुनावी अंकगणितलाई लिएर निकै चर्चा शुरु भएको छ । यो क्षेत्रमा बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १,२ र ३, अर्जुनधारा नगरपालिकाको ११ वटै वडा, बिर्तामोडको १ देखि ९ नम्बर वडा र कनकाई नगरपालिकाको ७ र ८ नम्बर गरी जम्मा २५ वटा वडा रहेका छन् ।
गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत परिणामलाई हेर्ने हो भने एमाले र गठबन्धनको मतपरिणाममा अन्तर देखिँदैन । एमालेले बुद्धशान्तिको ३ मध्ये २ वटा, अर्जुनधाराको ११ मध्ये ४ वटा, बिर्तामोडको ९ मध्ये ६ वटा गरी १२ वटा वडामा वडाध्यक्ष जितेको छ भने गठबन्धन दलको नेपाली कांग्रेसले बुद्धशान्ति ३ मध्ये १, अर्जुनधाराको ११ मध्ये ७, बिर्तामोडको ९ मध्ये २ र कनकाईको दुवै वडा गरी १२ वटा वडामा वडाध्यक्ष जितेको छ । बिर्तामोडको एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडाध्यक्ष जितेको छ । यो परिणामलाई हेर्ने हो भने एमाले र कांग्रेसको वडाध्यक्ष संख्या बराबरी देखिन्छ ।
एमाले र कांग्रेस–माओवादी गठबन्धन दलका वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणामलाई नियाल्ने हो भनेपनि कडा प्रतिष्पर्धा हुने नै देखिन्छ । सबै वडाबाट एमाले वडाध्यक्षहरुले ३६ हजार १५८ र गठबन्धन दलका वडाध्यक्षहरुले ३५ हजार ६१० मत प्राप्त गरेका छन् । उनीहरु बिच ५४८ मतको मात्र फरक देखिन्छ । कतिपय वडामा नेपाली कांग्रेसका बागी उम्मेदवारहरुले काटेको पार्टीको मत समेत यो निर्वाचनमा कांग्रेसलाई जानेछ । यसकारण गठबन्धनको मत बढी हुनेछ ।
अहिलेको निर्वाचनमा एमाले र राप्रपाबिच तालमेल गर्दापनि मतपरिणाममा खासै भिन्नता भने देखिँदैन । गठबन्धनमा नेकपा एकिकृत समाजवादीको समेत मत थप हुनेछ । नेकपा एमालेभित्र राम्रो छवि बनाएको, तीन दशक बढी पार्टी सदस्य भएर काम गरेको, लामोसमय जनप्रतिनिधी भएर काम गरेका कारण नेकपा एमालेको समेत थुप्रै मत रानालाई प्राप्त हुने देखिन्छ ।