झापामा ५ संघीय सांसदका लागि ९ महिला सहित १०१ जना उम्मेदवार
बिर्तामोड । झापाको ५ संघीय निर्वाचन क्षेत्रका लागि १०१ जनाले मनोनयन दर्ता गराएका छन । ती मध्ये ९ जना महिला रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । प्रमुख दलबाट भने सबै पुरुष उम्मेदवार रहेका छन ।
झापा क्षेत्र नम्बर १ बाट ३ महिलासहित १६ जनाले मनोनयन दर्ता गराएका छन । संयुक्त गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सो क्षेत्रबाट उम्मेदवारी दिएका छन । नेकपा एमालेको तर्फबाट पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै लामो समयबाट यातायातको क्षेत्रमा काम गरेका बिदुरकुमार खतिवडाले समेत स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका छन ।
क्षेत्र नम्बर २ बाट एक महिलासहित २० जनाको उम्मेदवारी परेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको तर्फबाट कमल-२ कि रेश्मा चेम्जोङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएकी हुन । गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट भर्खरै नेकपा एमाले परित्याग गरेका अर्जुनधारा नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिकुमार राना उम्मेदवार बनेका छन । त्यस्तै नेकपा एमालेको तर्फबाट प्रदेश अध्यक्ष देवराज घिमिरे उम्मेदवार बनेका छन ।
क्षेत्र नम्बर ३ मा १८ जनाको उम्मेदवारी परेको छ । सबै उम्मेदवार पुरुष रहेका छन । सो क्षेत्रमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम उपप्रधानमन्त्रीसमेत भइसकेका कृष्णप्रसाद सिटौला र एमाले-राप्रपाको तालमेलबाट राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन उम्मेदवार बनेका छन । हल्दिबारी गाउँपालिकाका निवर्तमान उपाध्यक्षसमेत रहेका नेकपा एमालेका जिल्ला सदस्य डम्बरबहादुर गिरीले पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका छन ।
झापा क्षेत्र नम्बर ४ मा १ महिलासहित २० जनाले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन । खुश्बु ओलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकिछिन । नेकपा एमालेको तर्फबाट लालप्रसाद साँवा र गठबन्धनको तर्फबाट नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले उम्मेदवारी दिएका छन ।
त्यस्तै झापा-५ मा जिल्लाकै बढी २७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । तीन महिलासहित १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन । कार्यालयका अनुसार जनता समाजवादी पार्टीको तर्फबाट एक जना महिला उम्मेदवार रहेको छ । एमाले-राप्रपाको तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले उम्मेदवारी दर्ता गराएका छन ।