प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि आज मनोनयन दर्ता गरिँदै
बिर्तामोड । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि आइतबार (आज) प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेको छ । झापाका ५ वटा क्षेत्रका सबै राजनीतिक दलहरुले पनि उम्मेद्वारी दर्ता गराउने कार्यक्रम रहेको छ ।
मौसमका कारण निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने जनाएको छ । स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएजस्तै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरेपनि आयोगले समय थप नगर्ने भएको छ ।
आयोगका अनुसार असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गरि सक्नुपर्नेछ । त्यसका लागि आयोगले आवश्यक संरचना, सुरक्षा प्रणालीको ब्यवस्था गरिसकेको छ । सबै राजनीतिक दलहरूलाई सबै वर्ग, जाति समेटिने गरी समानुपातिक ढंगले उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । विगतमा २ दिन उम्मेदवारी दर्ता गर्ने समय दिँदा पनि दलहरू दोस्रो दिनको अन्तिम समयमा आएर उम्मेदवारी दर्ता गर्ने गरेकोले एक दिन मात्र मनोनयनको समय राखिएको आयोगले जनाएको छ ।
उम्मेदवारी दर्ता गर्नका लागि कुनै वाधा आएमा आयोगले सहयोग गर्ने जनाएको छ । उम्मेदवारी दर्ता गर्नका लागि उम्मेदवारको भौतिक उपस्थिति कानुनले आवश्यक ठानेको छैन । वारेस मार्फत पनि गर्न सकिन्छ । उम्मेदवारी दर्ताका लागि आवश्यक पर्ने दलको आधिकारिक पत्र, निस्सा, वारेसनामा समस्या आएमा आयोगको केन्द्रीय कार्यालयबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन आयोग सहयोग गर्न तयार रहेको जनाइएको छ । त्यसका लागि आयोगले सचिवालयलाई भनिसकेको हुनाले राजनीतिक दलले आयोगको तर्फबाट पाउनुपर्ने सहयोग पाउने बताइएको छ ।
निर्धारित समयमा उम्मेदवारी दर्ता गर्नका लागि आयोगले आग्रह गर्दै मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस नलैजानपनि आयोगले आग्रह गरेको छ ।