२०८३ बैशाख १९ गते , शनिबार

एमाले नेता थारु सहित ४० जना बढी माओवादीमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन ५ गते , बुधबार
एमाले नेता थारु सहित ४० जना बढी माओवादीमा प्रवेश

बिराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरु बुधबार प्रचण्ड निवास खुमलटार पुगेर माओवादीमा प्रबेश गरेका हुन ।
केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा-२ को वडाध्यक्षमा झिनोमतले पराजित प्रमोद चौधरी, वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार सिभिल चौधरीसहित ४० भन्दा बढी एमाले, कांग्रेसका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।
‘लामो समय हामी एमालेमा रहि रगत पसीना बगायौं । तर, एमालेले हमीलाई चिन्न सकेन र राजनीतिक रूपमा पनि स्खलित हुँदै गयो,’ वडा नम्बर ५ का वडाध्यक्षका उम्मेद्वार सिभिल चौधरीले भने, ‘त्यसैले अबको मुलुकको नेतृत्व प्रचण्ड बाहेकका नेताबाट सम्भव छैन भन्ने हाम्रो निष्कर्ष हो ।’
माओवादीमा प्रवेश गर्नेहरुमा एमाले कार्यकर्ताहरु लक्ष्ना माझी, इन्द्रनारायण माझी, सिभना माझी, दिनेशकुमार चौधरी, बन्डु माझी, दुखाराम चौधरी, जनकवनि चौधरी, रीता ल्वागुन, भोजतीदेवी, कौशीला माझी र सरिता चौधरी लगायत छन् । यस्तै नेपाली काँग्रेसबाट विनय राय, जयप्रकाश चौधरी, विनयकुमार रायलगायत छन् भने बतेस राजवंशी, विरचरण चौधरी, अनुरुद्ध माझीलगायतका स्वतन्त्र समाजसेवी पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्र बुढीगंगाका इन्चार्ज इश्वरी आचार्यले जानकारी दिए ।
यसअघि प्रवेश गरेका बलभद्र सरदार थारु एमालेका मोरङका जिल्ला कमिटी सचिवालय सदस्य हुन् । उनीसहित त्यसबेला वडा नम्बर ३ का अध्यक्षका उम्मेद्वार अमीर भगत, वडा नम्बर ७ का एमालेका वडाध्यक्ष किरण सरदार र स्थानीय युवा नेता आशाराम सरदारलगायत माओवादीमा प्रवेश गरेका थिए ।
बलभद्र सरदार तत्कालिन टंकीसिनवरी गाविसको अध्यक्ष हुन् । उनी गत स्थानीय तहको निर्बाचनमा झिनो मतले गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जितु थापासँग पराजित भएका थिए । सरदार एमाले ६ नम्बर क्षेत्रीय कमिटी इन्चार्जसमेत थिए ।

सम्बन्धित समाचार