राप्रपाद्वारा झापा ३ मा लिङ्देन र ४ मा ओली सिफारिस
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय संसद निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ मा पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन र क्षेत्र नम्बर ४ मा युवा नेत्री खुश्बु ओलीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
राप्रपाको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको लागि लिङ्देन र ओलीको नाम सिफारिस गरेको हो ।
अध्यक्ष लिङ्गदेनको उम्मेदवारी सिफारिस भए सँगै झापा राप्रपामा उत्साहित देखिएको छ । 'यो अत्यन्तै खुशीको क्षण हो, श्रद्देय अध्यक्ष ज्यूलाई पुन: भोट हाल्ने मौका जुरेको छ,' राप्रपाका युवा नेता राजकुमार चाम्लिङ्गले भने ।
उम्मेदवारी घोषणा गरिएसँगै चुनावी प्रचार प्रसार अभियानलाई उत्साहित रुपमा अगाडी बढाउने चाम्लिङ्गले बताए।
वेलायतको अक्सफोर्ड विश्वविधालयमा राजनीतिशास्त्र अध्ययन गरेकी युवा नेत्री ओलीले हाल राप्रपामा केन्द्रीय प्रशिक्षकको जिम्मेवारी सम्हालेकी छिन्। एक दशक देखि डेभलपमेन्ट सेक्टरमा काम गर्दै आएकी ओलीले स्थापना गरेको गैह्र सरकारी संस्थाले नेपालका कारागारहरुमा पुनर्स्थापनाका कार्यक्रमहरु गर्दै आइरहेको छ।
महिला र किसान शसक्तिकरण अभियान र सडक बालबालिकाको पुनर्स्थापनाको क्षेत्रमा ओलीको उल्लेखनीय योगदान रहेको बताइन्छ। झापामा रहेर लामो समय देखि कृषि क्षेत्रमा सेवारत रहेकी ओलीको झापा ४ को उपस्थितिले महिला र युवा वर्गमा प्रेरणा मात्र नभई नयाँ जोश र आशा समेत दिलाएको बताइएको छ ।