केहि बर्षपछि हिन्दुहरुपनि अल्पमतमा पर्न सक्छन् : कमल थापा
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले केहि बर्षपछि हिन्दुहरुपनि अल्पमतमा पर्न सक्ने बताएका छन् । सोमबार अगुवा कार्यकर्ता भेटघाटमा झापा आएका थापाले पत्रकार सम्मेलनमा बोल्दै बढ्दो धर्म परिवर्तनका कारण हिन्दुहरु पनि अल्पमतमा पर्न सक्ने बताएका हुन ।
अध्यक्ष थापाले प्रत्येक बर्ष ११ प्रतिशतका दरले धर्म परिवर्तन र इशाइकरण भइरहेको बताउँदै हाल बहुमतमा रहेका हिन्दुहरु समेत अल्पमतमा पर्नसक्ने खतरा रहेको बताए । नेपालमा मुख्यतः हिन्दु, बुद्धिष्ट र किराँत सम्प्रदाय रहेको तर यस्तै धर्म परिवर्तन भइरहे अन्य धर्मावलम्बीहरु पछाडी पर्दै जाने उनले बताए । ‘गत करिब बीस बर्ष यता प्रतिबर्ष ११ प्रतिशतका दरले नेपालमा धर्म परिवर्तन भइरहेको छ र इशाइकरण भइराखेको छ,’ उनले भने,‘यो धर्म परिवर्तन कै कारणले गर्दा नेपालको एउटा डेमोग्राफिक कम्पोजिसनमा पनि डरलाग्दो परिवर्तन हुन लागि राखेको हामी देखिराखेका छौँ ।’
अहिलेसम्म जनस्तरमा धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको पुनस्र्थापनाको बारेमा सशक्त अभिमत रहेतापनि संसदमा यसको प्रतिनिधित्व हुन नसकेको अध्यक्ष थापाले बताए । उनले आगामी चुनावमा आफुहरु धर्मपरिवर्तनको डढेलोबाट सनातन हिन्दु राष्ट्रको बत्ति ननिभोस भन्ने सुस्पष्ट मागका साथ जनतासमक्ष जाने जानकारी दिए । ‘देशमा विगत केहि समय यता लोकतन्त्रको आवरणमा मौलाउँदै गएको सर्वसत्तावाद, बाह्य शक्तिको चलखेल र प्रभाव, अर्थतन्त्र दिन प्रतिदिन संकटग्रस्त हुँदै गइरहेको भयावह स्थिति, भ्रष्टाचार र बेरोजगारीका बारेमा पनि जनतालाई हामी अहिलेको अवस्थाको बारेमा जानकारी दिएर त्यसको विकल्प खोज्नको निमित्त अनुरोध गर्दछौँ । र, त्यो विकल्पको रुपमा विस्तारै राप्रपा नेपाल तयार रहेको सन्देशपनि यो निर्वाचनबाट हामी दिन चाहन्छौँ,’ उनले भने ।
अध्यक्ष थापाले राप्रपा नेपाल लोकतान्त्रिक कित्तामा उभिनुका साथै लोकतान्त्रिक हिन्दु राष्ट्रको प्रमुख एजेण्डा बोकेर हिडेको बताए । उनले चुनावी तालमेलका लागि सिद्धान्ततः सबै दलहरुसँग सहकार्यको निमित्त तयार रहेको भएपनि नेकपा एमालेसँग तालमेल हुने सम्भावना बढिरहेको बताए । व्यक्तिगत रुपमा समेत आफु नेकपा एमाले अध्यक्ष ओलीसँग निकट र आत्मिय सम्बन्ध रहेको र एमाले पछिल्लो समय राष्ट्रियताको पक्षमा सशक्त रुपमा प्रस्तुत भएको लगायतका केहि आधारमा एमालेसँग तालमेल हुने बताए । ओलीको पक्षमा खुलेर प्रशंसा गरेका थापाले ओलीले लिम्पियाधुरा र लिपुलेकसमेत समेटिएको नेपालको नक्सा निकालेर नेपाली जनतालाई ठूलो गुण लगाएको बताए ।
अध्यक्ष थापाले ६ दलीय गठबन्धनले मुलुकमा स्थिरता दिन नसक्ने र सैद्धान्तिक र वैचारिक रुपमापनि विपरित ध्रुवमा रहेका दलहरु एक बिशेष परिस्थितीमा एक ठाउँमा जम्मा भएर आफनो सिट सुरक्षित गर्नका लागि गठबन्धन गरेको आरोप लगाए । आफुले नै नेतृत्वका लागि राजेन्द्र लिङ्देनलाई अघि सारेको बताउँदै थापाले राप्रपाले आफुहरुको स–साना गुनासोसमेत सम्बोधन नगरेको र त्यहाँ बस्ने परिस्थिती सिर्जना नगरेका कारण बाहिरिनु परेको गुनासो गरे । राप्रपाले राजतन्त्रको एजेण्डा बिसाए आफुहरुसँग तालमेल हुन सक्ने उनले बताए । अध्यक्ष थापाले तत्काल राजतन्त्र पुनस्र्थापना हुन सक्ने सम्भावना नरहेको समेत स्पष्ट पारे ।