कालिकोटे खड्काहरुको कुल मन्दिर निर्माण
धाइजन । कालिकोटे खड्का बन्धुहरुको कुल मन्दिर निर्माण भएको छ । झापाको मेचीनगर १२ धाइजनमा मन्दिर निर्माण भएको हो ।
धाइजनमा रहेको साढे दुई कठ्ठा जग्गामा कालिकोटे खड्का बंशोत्थान समिती झापाले कुल मन्दिर निर्माण गरेको हो । समितिले कुल मन्दिरसगैँ विन्ध्यवासिनी मन्दिर र सभाहल सहितको भवन समेत निर्माण गरिरहेको समितिका सचिव कल्याण खड्काले जानकारी दिए ।
समितिले कुलको मन्दिर निर्माण सम्पन्न गरि शुक्रवार बिधिवत रुपमा मन्दिरमा कुल स्थापना गरेको छ ।
मन्दिर निर्माणका लागि समितिले छ धुर जग्गा खरिद गरेको र बाँकी जमिन स्थानीय स्वर्गीय गंगाबहादुर खड्का र डम्बरकुमारी खड्काले निशुल्क प्रदान गरेको लेखा समिती संयोजक भेषराज खड्काले जानकारी दिए ।
धाइजनमा मेचीको चार जिल्ला र भारतको सिलिगुडी, दार्जिलिङ्ग, सिक्किम र आसाममा रहेका कालिकोटे खड्काहरुले हरेक तीन बर्षमा देवाली गर्दै आएका छन ।
समितिले उक्त जग्गामा कम्पाउण्ड निर्माणको काम सकेको छ भने बिन्ध्यवासिनीको मन्दिर र सभाहल निर्माणाधिन रहेको समितिका अध्यक्ष दिलबहादुर खड्काले बताए । संरचना निर्माणका लागि संस्थाका संरक्षक बिर्तामोडस्थित खड्का कम्प्लेक्सका संचालक रतनबहादुर खड्काले करिब १६ लाख रुपैँया सहयोग उपलब्ध गराएको अध्यक्ष दिलबहादुरले जानकारी दिए । सिलिगुडी निवासी सन्तोष खड्काले सहयोग स्वरुप पाँच लाख उपलब्ध गराएको सचिव कल्याण खड्काले बताए ।
तीन तलाको भवन निर्माण गर्ने जहाँ पहिलो तलामा हल र माथिका तलाहरुमा कोठा निर्माण गरिने समितिले जनाएको छ । निर्माणाधीन बिन्ध्यवासिनीको मन्दिर र भवन निर्माणका लागि सम्पुर्ण बन्धु, स्थानीयपालिका तथा सहयोगी संघसंस्थाहरुलाई सहयोगको अपिल गरिएको सचिव कल्याण खड्काको भनाई छ । सहयोग गर्न इच्छुकहरुलाई कालिकोटे खड्का बंशोत्थान समितिको नाममा नेपाल बैंक धुलाबारीमा रहेको खाता नम्बर ०५५००१०६४१२१११०००००१ मा सहयोग गर्न सकिने समितिले जनाएको छ ।