सरकारले माग्यो बाढीपहिरोबाट भएको क्षतिको विवरण
काठमाडौं
। संघीय सरकारले स्थानीय तहबाट मनसुनजन्य घटनाका कारण भएको मानवीय, बालिनाली तथा भौतिक
रुपमा भएको क्षतिको विवरण संकलन थालेको छ ।
मंगलबार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई पत्र काट्दै यस्तो
विवरण पठाउन भनेको हो । सरकारले मनसुनजन्य विपद्का घटनाबाट भएको क्षतिको विवरणसहित
पुनर्लाभ योजना तयार गरी कार्यान्वयन गर्ने प्रयोजनका लागि यस्तो विवरण चाहिएको बताएको
छ ।
स्थानीय
सरकारहरुले आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण मन्त्रालयलाई यथाशीघ्र पठाउनु पर्ने
भएको छ ।
सरकारले
घाइते, मृत्यु हुने र बेपत्ता हुनेको संख्या मागेको छ भने पूर्वाधारतर्फ सडक, भवन,
सिँचाइ, कुलो, बाँध, पैनी, खानेपानी, पुलमा भएको क्षतिको विवरण मागेको छ । निजी आवासमा
भएको क्षतिसँगै कृषि बाली, पशुपन्छीमा भएको क्षतिको समेत अनुमानित क्षति रकमसहित पठाउन
भनिएको छ ।
करिब
४० घण्टासम्म निरन्तर परेको बर्षातका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ । धानको
सिजन भएकाले धानबालीमा बर्षातले ठूलो क्षति पुर्याएको छ भने पहाडी क्षेत्रमा गएको पहिरोले
बाली तथा पशुचौपाया र मानवीय क्षति भएको छ । बाढी पहिरो प्रभावित केहि क्षेत्रमा प्रधानमन्त्री
शेरबहादुर देउवाले अवलोकन गरेर राहत दिने बताएका छन् ।