काँकरभिट्टाको होटलमै लागूऔषध कारोबार, तीन जना पक्राउ
बिर्तामोडमा । पूर्वी नाका झापाको मेचीनगर-६ काँकडभिट्टास्थित एक होटलमा लागूऔषध कारोबार भइरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । एच.एम.होटलमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा प्रहरीले मेचीनगर २ बस्ने बर्ष २३ का सचिन राई, दमक ७ बस्ने बर्ष ३० की मिना राई र सोही ठाउँ बस्ने बर्ष २६ की प्रतिमा राईलाई पक्राउ गरेको हो ।
हिजो बिहान ११ः३० बजे सो होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. काँकडभिट्टाबाट खटिएको डगसहितको टोली तथा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठा न.३ मा सर्च गर्दा सिरानीमुनि लुकाएर राखेको प्लाष्टिकसहित ७ ग्राम ७७० मिलिग्राम र प्लाष्टिकबाहेक ३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।