बिर्तामोडमा नारायण गोपाल साँझ मंसिर १९ गते हुँदै
बिर्तामोड । नेपाली आधुनिक संगीतका स्वरसम्राट स्वर्गीय नारायण गोपालको स्मृतिमा झापामा नारायण गोपाल स्मृति साँझ आयोजना हुने भएको छ।
नारायण गोपालको ३६औं स्मृति दिवसको अवसरमा आगामी मङ्सिर १९ गते साँझ बिर्तामोडस्थित लिटल फ्लावर स्कुलको सभाहलमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा राष्ट्रियस्तरका चर्चित गायक राज सिग्देलको विशेष सांगीतिक प्रस्तुति रहनेछ। त्यसैगरी झापाका स्थानीय कलाकारहरूले समेत आफ्ना सांगीतिक प्रस्तुति दिने नारायण गोपाल स्मृति प्रतिष्ठान झापाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए ।
स्वरसम्राट नारायण गोपालको सांगीतिक योगदानको स्मरण गर्दै उनका कालजयी गीतसंगीतलाई नयाँ पुस्तामाझ परिचित गराउने तथा नेपाली आधुनिक संगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानकी सचिव भीमा शिवाकोटीले जानकारी दिइन् । कार्यक्रममा सहभागिताका लागि आयोजकले आग्रह गरेको छ ।
प्रतिष्ठानले नारायण गोपालले नेपाली संगीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको सम्मान गर्दै उनको सांगीतिक विरासतलाई जीवन्त राख्ने उद्देश्यसहित स्मृति साँझ आयोजना गर्दै आएको छ।