२०८३ कार्तिक २६ गते , विहीबार

दशौँ राष्ट्रिय प्रतियोगिताको ३० दिने ‘काउन्टडाउन’ शुरु

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक १६ गते , सोमबार
दशौँ राष्ट्रिय प्रतियोगिताको ३० दिने ‘काउन्टडाउन’ शुरु

झापा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहँदा प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिता आउन बाँकी ३० दिनको ‘काउन्टडाउन’ शुभारम्भ गर्दै सङ्घीय सरकार, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीचको समन्वय तथा सहकार्यमा आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्रोत परिचालन भइरहेको जानकारी दिए ।

उनले प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताए । ‘खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नु हामी सबैको साझा दायित्व हो । यसमा सबै क्षेत्र र तहका सरोकारवालाले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ,’ उनले भने ।

खेलकुद क्षेत्रको ठूलो प्रतियोगिता कर्णालीमा आयोजना हुन लागेको उल्लेख गर्दै उहाँले प्रदेश तथा स्थानीय सरकारले विशेष महत्त्वका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे । अब प्रचारप्रसारका गतिविधिलाई व्यापक बनाउँदै लैजाने र सङ्घीय सरकार प्रतियोगिता सम्पन्न गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश सरकार सहआयोजक भए पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नु प्रदेशको प्रतिष्ठासँग जोडिएको विषय भएको बताए ।

रङ्गशालाको पूर्वाधार निर्माणसम्बन्धी सबै काम पूरा भइसकेको जानकारी दिँदै उनले मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडी तथा पाहुनाको बसोबास व्यवस्थापन र सबैका लागि सहज वातावरण निर्माणमा प्रदेश सरकार जुटिरहेको बताए ।

सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले प्रतियोगिताको प्रचारप्रसारलाई राष्ट्रव्यापी बनाउँदै भव्य रूपमा सम्पन्न गर्ने तयारीलाई तीव्र पारिएको बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवीन्द्र चन्दले कर्णालीको खेलकुद गीत सार्वजनिक गर्दै एक हप्ताभित्र रङ्गशालाको संरचना हस्तान्तरण गरिने जानकारी दिए ।

सम्बन्धित समाचार