तिहार नजिकिँदै जाँदा पटाका तस्करी सुरु, प्रहरीद्वारा ३ लाखको बरामद
झापा । चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापा तथा मातहतका कार्यालयहरूले विभिन्न सीमा नाका र चेकपोइन्टबाट बरामद गरी नष्ट गरेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण लगायत सीमा सुरक्षामा खटिएका कार्यालयहरूले सीमा क्षेत्रमा नियमित गस्ती तथा चेकजाँच गर्ने क्रममा विभिन्न स्थानबाट भारत हुँदै भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको र लुकाइछिपाइ राखिएको अवस्थामा पटका बरामद गरेका हुन्। बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएकोछ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले कुल ३ लाख १६ हजार ५९० रुपैयाँ बराबरका पटका बरामद गरि नष्ट गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टले जानकारी दिए ।
पटका बरामदकै क्रममा पटका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरिएको छ।