२०८३ कार्तिक २६ गते , विहीबार

एउटै विमानमा रहेका पाइलटलाई किन फरक फरक खाना दिइन्छ ?

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन २२ गते , विहीबार
एउटै विमानमा रहेका पाइलटलाई किन फरक फरक खाना दिइन्छ ?

उडानमा रहेका पाइलटले आफूलाई मन लागेको जुनसुकै खाना रोजेर खान पाउँछन् भन्ने हुँदैन । उनीहरूको खानाभन्दा पनि उडान सुरक्षालाई प्राथमिकता दिइन्छ ।
त्यसैले क्याप्टेन र फस्र्ट अफिसरलाई सामान्यतः एउटै खाना दिइँदैन । उनीहरूले एकैपटक खाना खाने अभ्यास पनि हुँदैन । उदाहरणका लागि, क्याप्टेनलाई भात, दाल र रोटी दिइएको छ भने फस्र्ट अफिसरलाई त्यही खाना नदिएर अर्को परिकार दिइने गरिएको छ ।
कतिपय अवस्थामा एक पाइलटले चिकेन खाँदा अर्काले पास्ता, माछा वा शाकाहारी खाना खान सक्छन्। कुन प्रकारको खाना दिने भन्ने कुरा सम्बन्धित एयरलाइन्सको आन्तरिक सुरक्षा प्रोटोकलमा निर्भर गर्छ। यसको मुख्य कारण स्वाद वा खानाको रुचि होइन, सुरक्षा हो।
एउटै खाना खाँदा के जोखिम हुन्छ?
कल्पना गर्नुहोस्, दुवै पाइलटले एउटै खाना खाए । त्यो खाना दूषित रहेछ र त्यसबाट फुड पोइजनिङ भयो भने?
दुवै पाइलट एकैपटक बिरामी पर्न सक्छन्। विमान हजारौँ फिटमाथि उडिरहेको बेला यस्तो अवस्था निकै गम्भीर हुन सक्छ। त्यसैले एउटै खाना खाँदा उत्पन्न हुन सक्ने यस्तो जोखिम कम गर्न दुई पाइलटलाई फरक(फरक खाना दिने अभ्यास गरिन्छ ।
यदि एउटा पाइलटलाई खानाका कारण समस्या भयो भने अर्को पाइलट सुरक्षित र काम गर्न सक्ने अवस्थामा रहोस् भन्ने यसको उद्देश्य हो। अर्थात्, ककपिटमा कम्तीमा एक जना पाइलट सधैँ उडान सञ्चालन गर्न सक्षम रहन सक्ने अवस्था कायम राख्नु यसको मूल उद्देश्य हो ।
यद्यपि, दुई पाइलटलाई अनिवार्य रूपमा फरक खाना नै दिनुपर्ने कुनै विश्वव्यापी कानुनी नियम भने होइन। यो मुख्यतः एयरलाइन्सहरूले अपनाउने सुरक्षा सावधानी र जोखिम व्यवस्थापनको अभ्यास हो ।
खाना खाने बेलामा पनि ककपिटमा जिम्मेवारी बाँडिन्छ
पाइलटको खाना खाने समय पनि सामान्य यात्रुजस्तो हुँदैन। एक पाइलट खाना खाइरहेको बेला अर्को पाइलटले विमानको नियन्त्रण, सञ्चार र ककपिटका अन्य आवश्यक जिम्मेवारी सम्हालिरहेको हुन्छ ।
यसको कारण पनि एउटै हो कुनै पनि क्षणमा विमान सञ्चालनमा आवश्यक न्यूनतम दक्ष जनशक्ति ककपिटमा उपलब्ध रहोस्। सडकमा यात्रा गर्दा एउटा गाडी रोक्न सकिन्छ र चालकले खाना खान सक्छ ।
लामो यात्रामा चालकले केही समय आराम गर्न पनि सक्छ। तर आकाशमा हजारौँ फिटमाथि उडिरहेको विमानको अवस्था त्यस्तो हुँदैन ।
विमानलाई निरन्तर निगरानी, नियन्त्रण र तत्काल निर्णय आवश्यक पर्छ । त्यसैले ककपिटमा रहेका पाइलटमध्ये कम्तीमा एक जना सधैँ सक्रिय र उडान सम्हाल्न सक्ने अवस्थामा रहनु अत्यन्त महत्वपूर्ण हुन्छ ।
फ्लाईदुबई घटनाले फेरि सम्झाएको अर्को सुरक्षा पक्ष
फ्लाईदुबईको उडानमा भएको पछिल्लो घटनाले ककपिट सुरक्षाको अर्को महत्वपूर्ण पक्ष पनि उजागर गरेको छ। विमानमा क्याप्टेन स्मित मच्छरमाथि सहपाइलटले आक्रमण गरेपछि अवस्था निकै गम्भीर बनेको थियो। रिपोर्टअनुसार विमान तीव्र गतिमा तल झर्न थालेको थियो। त्यस क्रममा यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरे भने ककपिटमा रहेका अन्य चालक दलका सदस्यले विमानलाई पुनः सुरक्षित उचाइमा ल्याउन सहयोग गरेका थिए।
यही कारणले विमानमा अतिरिक्त चालक दलका सदस्य र आपत्कालीन अवस्थाका लागि तयार रहने प्रक्रिया कति महत्वपूर्ण हुन्छ भन्ने पनि यो घटनाले देखाएको छ। कल्पना गर्नुहोस्, त्यहाँ एक जना मात्र पाइलट भएको भए के हुन्थ्यो?
वा दुई पाइलट मात्रै भएको अवस्थामा दुवै एकैपटक असक्षम भएका भए? विमान उडानका क्रममा अपनाइने यस्ता धेरै सुरक्षा अभ्यास बाहिरबाट हेर्दा सामान्य वा अनावश्यकजस्ता लाग्न सक्छन्। तर तिनको पछाडि वर्षौँको उड्डयन अनुभव, दुर्घटनाबाट सिकिएका पाठ र जोखिमलाई न्यूनतम बनाउने प्रयास लुकेको हुन्छ।
दुई पाइलटलाई फरक खाना दिने अभ्यास पनि त्यही सुरक्षा सोचको एउटा उदाहरण हो। उडानका क्रममा एउटा अप्रत्याशित समस्या आए पनि अर्को पाइलट सुरक्षित र सक्षम रहोस्।

सम्बन्धित समाचार