बाढीमा परी मृत्यु भएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै
झापा । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ ।
१८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो
आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी अहिलेसम्म १ हजार ३४२ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९९६ जना सम्पर्कविहीन छन् ।
विनाशकारी बाढीमा परी ६ हजार ८३ जना घाइते भएका छन् र खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन भएका छन् । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९१ जनाको उद्धार गरिएको छ ।