फोकटको सुझाव दिएका कोशीका सचिव निरौलालाई रसुवामा शव व्यवस्थापनको जिम्मा
झापा । रसुवा बाढीमा परि मृत्यु भएकाहरुको शव व्यबस्थापनको बिषयमा आलोचनात्मक टिप्पणी गरेका कोशी प्रदेश सरकारका सचिव कोषहरी निरौलालाई सरकारले काज सरुवा गरिदिएको छ ।
उनलाई शव व्यवस्थापनकै जिम्मेवारी बोक्ने गरी रसुवामा सरुवा गरिएको हो ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलाले ‘फोकटको सुझाव’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।
त्यसमा उनले सनाखत नभएका शवहरुबाट ‘डीएनए’ लिएर माटोमा पुरिएको बिषयमा आलोचना गरेका छन् । त्यसको भोलिपल्टै उनलाई बाढीग्रस्त जिल्ला रसुवामै शव व्यवस्थापन गर्ने जिम्मेवारीमा खटाइएको हो ।
सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मा दिएकी हुन् ।
तलब–भत्ता भने कोशी प्रदेशबाटै भुक्तानी हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि काजमा खटाइएको मन्त्रालयको पत्रमा उल्लेख छ ।
साथै, उनलाई जिल्ला प्रशासन कार्यालयलाई सम्पर्क कार्यालयका रुपमा प्रयोग गर्न भनिएको छ ।
सचिव निरौलाले फेसबुकमा विपद्का बेला शव व्यवस्थापनसम्बन्धी आफ्नै अनुभव र सुझाव सेयर गरेका थिए ।
कोभिड–१९ महामारीका बेला आफू मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा शव व्यवस्थापनमा देखिएका चुनौतीको स्मरण गर्दै उनले वर्तमान विपद्मा पनि मृतकको धर्म, संस्कार, परम्परा र परिवारको भावनालाई ध्यान दिनुपर्ने बताएका छन् ।
उनले फेसबुक स्टाटसको सुरुमै ‘चितवनमा हतारमा शव गाडिएको समाचार सुनेपछि आफूलाई फोकटको सल्लाह दिन मन लागेको’ भनेर लेखेका थिए ।
बाढीमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारले आफ्ना प्रियजनको सास वा शव खोज्दै रसुवादेखि गण्डक ब्यारेजसम्म पुग्न सक्ने उनको टिप्पणी छ ।
त्यसैले शव व्यवस्थापनमा संवेदनशीलता अपनाउनुपर्ने भन्दै उनले लेखेका छन्, ‘आफन्तको भावनामा चोट पुग्ने गरी निर्णय गर्नु हुन्न ।’