दुर्गा प्रसाईंको फोन प्रहरी नियन्त्रणमा
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा खानतलासी गरेर प्रहरीले ६ वटा मोबाइल नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार भक्तपुरस्थित घरबाट प्रहरीले प्रसाईंले प्रयोग गर्दै आएको सहित ६ थान मोबाइल जफत गरेको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको घरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र भक्तपुर परिसरबाट खटिएको टोलीले खानतलासी गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत कुमार थापा नेतृत्वको टोलीले प्रसाईको घरबाट एकथान ल्यापटप र सिसिटिभीको डिभिआर बक्स पनि बरामद गरेको छ ।
प्रसाईंले लघुवित्त प्रभावितहरूको नेतृत्व गरेको र उनीहरूलाई आन्दोलनमा उतारेको प्रहरीको निष्कर्ष छ । लघुवित्त पीडितहरूले केही दिन यता पुलचोकस्थित मानवअधिकार आयोगको कार्यालय अगाडी धर्ना दिँदै आएका छन्।
लघुवित्त पीडितहरूले भड्काउने आशङ्कामा साउन ३१ देखि नै प्रहरीले उनलाई निगरानीमा राखिरहेको छ । उनको घरमा प्रहरीले २४ सै घण्टा निगरानी गर्दै आएको छ ।
बरामद सामग्रीहरू अनुसन्धानको लागि नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एक जना उच्च अधिकृतले बताए ।