‘लाइक’को लत कि मानवताको पतन ?
कुनै समय सामाजिक सञ्जाललाई विचार, सूचना, ज्ञान र मानव सम्बन्धलाई जोड्ने एउटा शक्तिशाली माध्यमका रूपमा हेरिन्थ्यो । यसले संसारलाई साँघुरो बनायो, आवाजविहीनलाई बोल्ने अवसर दियो र प्रतिभालाई चिनाउने विशाल मञ्च उपलब्ध गरायो । तर आज यही सामाजिक सञ्जाल विस्तारै अर्को रूप धारण गरिरहेको छ । धेरैका लागि यो घमण्ड देखाउने ठाउँ बनेको छ, कसैका लागि घृणा र द्वेष फैलाउने हतियार, कसैका लागि गालीगलौज गर्ने चौतारी, कसैका लागि निरन्तर विज्ञापन गर्ने बजार, त कसैका लागि आफ्नै आत्मकथा सुनाइरहने मञ्च ।
सबैभन्दा दुःखद पक्ष के हो भने हामी प्रविधिमा आधुनिक बन्दै जाँदा व्यवहारमा संवेदनशील बन्नुपर्ने ठाउँमा झन् असंवेदनशील बन्दै गएका छौँ । दुर्घटनामा परेका मानिसलाई अस्पताल लैजानुभन्दा पहिले भिडियो खिच्ने, कसैको पीडालाई ‘भाइरल कन्टेन्ट’ बनाउने, दुःखमा परेकाको आँसुमा पनि प्रतिक्रिया र लोकप्रियता खोज्ने प्रवृत्तिले हाम्रो मानवीय चेतनामाथि नै प्रश्न उठाएको छ ।
आज सामाजिक सञ्जालमा एउटा राम्रो कामभन्दा एउटा विवादास्पद पोस्ट छिटो फैलिन्छ । एउटा सिर्जनशील विचारभन्दा एउटा अपशब्द धेरै चर्चित हुन्छ । सत्यभन्दा सनसनी छिटो बिक्छ । यही प्रवृत्तिले समाजलाई विभाजनको बाटोतर्फ धकेलिरहेको छ ।
घमण्डको प्रदर्शन अहिले सामाजिक सञ्जालको सामान्य संस्कृति बन्दै गएको छ । सफलता देखाउनु गलत होइन, तर अरूलाई होच्याएर आफूलाई ठूलो प्रमाणित गर्ने प्रयासले समाजमा स्वस्थ प्रतिस्पर्धा होइन, अस्वस्थ होडबाजी जन्माउँछ । अरूको खुसी देखेर प्रेरणा लिनुपर्ने ठाउँमा इष्र्या बढ्ने वातावरण सिर्जना हुन्छ ।
फरक विचार राख्ने मानिसलाई शत्रु ठान्ने बानी पनि सामाजिक सञ्जालले बढाएको जस्तो देखिन्छ । कुनै राजनीतिक, धार्मिक वा सामाजिक विषयमा असहमति भयो भने तर्कभन्दा गाली, प्रमाणभन्दा आरोप र संवादभन्दा द्वेष हाबी हुने गरेको छ । लोकतन्त्रको आधार फरक विचारको सम्मान हो, विचारको हत्या होइन । फरक विचारहरूको अन्तरक्रिया बाट तथ्यलाई स्वीकार्दै सहि निष्कर्षमा संवाद जानु पर्नेमा सामाजिक सञ्जालमा हरेक कुरा आफ्नै वरिपरि घुमाउने प्रवृत्ति बढ्दै गएको छ । जहाँ जे घटना भए पनि त्यसलाई आफ्नै कथा जोडेर प्रस्तुत गर्ने, निरन्तर आफ्नै प्रशंसा गर्ने र सबैको ध्यान आफूतिर तान्ने प्रयासले सामाजिक सञ्जाललाई सामूहिक संवादको थलोभन्दा व्यक्तिगत अहमता प्रदर्शनको मञ्च बनाइरहेको छ ।
विज्ञापन पनि आवश्यक हुन्छ, व्यवसाय चल्नुपर्छ, उत्पादन चिनिनुपर्छ । तर जब हरेक पोस्ट बेच्ने माध्यम मात्र बन्छ, सम्बन्धभन्दा व्यापार ठूलो देखिन थाल्छ । विश्वासभन्दा प्रचार बलियो हुन्छ । अन्ततः मानिसले सामग्रीभन्दा पनि उद्देश्यलाई प्रश्न गर्न थाल्छन् ।
सबैभन्दा गम्भीर चिन्ता भनेको हाम्रो भाषा हो । शब्दले सम्बन्ध जोड्न पनि सक्छ, तोड्न पनि सक्छ । आज सामाजिक सञ्जालमा प्रयोग हुने अपशब्द, अपमान र चरित्रहत्या गर्ने शैलीले सभ्य समाजको स्तर झन् कमजोर बनाइरहेको छ । असहमति राख्ने अधिकार सबैलाई छ, तर अपमान गर्ने अधिकार कसैलाई छैन ।
यद्यपि दोष सामाजिक सञ्जालको होइन। दोष त्यसको प्रयोग गर्ने हाम्रो चेतना, संस्कार र जिम्मेवारीबोधमा छ । त्यसो त यही माध्यमबाट रक्तदान अभियान सफल भएका छन्, हराएका बालबालिका भेटिएका छन्,प्राकृतिक विपत्तिमा लाखौँको सहयोग जुटेको छ, गरिब विद्यार्थीको पढाइका लागि सहयोग संकलन भएको छ जीवन उपयोगी आवाश्यक सूचनाहरू संप्रेषण भएका छन, बस्तु र सेवाको बजार प्रवर्धनको ससक्त माध्यम पनि बनेको छ र समाज परिवर्तनका धेरै अभियान सफल भएका छन् । त्यसैले सामाजिक सञ्जाल आफैंमा न राम्रो हो, न नराम्रो,यसको मूल्य प्रयोगकर्ताले निर्धारण गर्छ ।
आजको आवश्यकता नयाँ एप मात्र बनाउने मात्र होइन, नयाँ सोच बनाउने पनि हो । पोस्ट गर्नु अघि एकछिन सोच्ने बानी बसालौँ । यो सामग्रीले कसैलाई चोट त र्पुयाउँदैन ? यसले समाजलाई जोड्छ कि तोड्छ ? यसले घृणा बढाउँछ कि आशा ? यदि प्रत्येक प्रयोगकर्ताले यति मात्र सोच्न थाल्यो भने सामाजिक सञ्जाल फेरि ज्ञान, प्रेरणा, सहयोग र मानवताको साझा चौतारी बन्न सक्छ ।
हामीले प्रविधिलाई जितेका छौँ, अब सकारात्मक सोच बनाउन सिक्नुपर्छ । ‘लाइक’ र ‘सेयर’ भन्दा ठूलो कुरा विश्वास हो । ‘भाइरल’ भन्दा ठूलो कुरा मूल्य हो । लोकप्रियताभन्दा ठूलो कुरा सत्य निष्ठाप्रतिको समर्पण हो ।
आउनुहोस्, आजैबाट एउटा संकल्प गरौ सामाजिक सञ्जालमा घृणा होइन, सम्मान लेखौँ । गाली होइन, तर्क गरौँ। अफवाह होइन, सत्य फैलाऔँ। प्रदर्शन होइन, प्रेरणा बाढौँ । किनकि हामीले लेख्ने प्रत्येक शब्दले केवल एउटा पोस्ट होइन, भविष्यको समाज निर्माण गरिरहेको हुन्छ । सामाजिक संजालको संवादबाट सुन्दर, समुन्नत र सुसंस्कृत नेपाली सहित विश्वसमाज निर्माणको यात्रा तर्फ अघि बढौं ।
जादाजादै ……..
‘सामाजिक सञ्जालमा हामी जे लेख्छौँ, त्यो केवल स्क्रिनमा देखिने अक्षर होइन; त्यो हाम्रो संस्कार, हाम्रो चेतना र भावी पुस्ताले पढ्ने हाम्रो चरित्रको दस्तावेज पनि हो ।’