हिमालयन लाइफको डीसीईओ बने अमात्य
झापा । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा दिनेश अमात्य आएका छन् । अमात्यले सोमबारबाट जिम्मेवारी सम्हालेका हुन् ।
उनलाई कम्पनीको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद ढुङ्गानाले स्वागत गरेका थिए । बीमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष दामोदर गौतम, हिमालयन विमकका उपाध्यक्ष अष्टबहादुर श्रेष्ठ, सचिव प्रल्हाद तिम्सिना र कोषाध्यक्ष त्रिलोचन बिश्वकर्माले समेत नवनियुक्त डीसीईओ अमात्यलाई कार्यालयमा पुगेर आजै स्वागत गरेका थिए ।
यस अघि अमात्य आइएमई लाइफमा डीसीईओको रूपमा कार्यरत थिए । उनले केही समय अघिमात्र आईएमई लाइफबाट राजीनामा दिएका थिए । उनी आईएमई लाइफ स्थापनाको वर्ष २०७४ देखि कार्यरत थिए । उनी त्यतिबेला प्रमुख सञ्चालन अधिकृतका रुपमा आइएमई लाइफमा जोडिएका थिए ।
अमात्य २०८१ साउनको दोस्रो साता आइएमई लाइफको डीसीईओमा बढुवा भएका थिए । त्यसअघि उनी नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए।
जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्या लाइफ इन्स्योरेन्समा पनि संस्थापनादेखि नै काम गर्ने अवसर पाएका थिए। उनले त्यहाँ २०६५ सालदेखि निरन्तर २०७४ साल असारसम्म काम गरे। उनले सहायक महाप्रबन्धक पदबाट सूर्या लाइफबाट राजीनामा दिएर आइएमई लाइफमा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए ।
अमात्यसँग कार्यालय प्रशासनका साथै बीमालेख विकास, जोखिमांकन, पुनर्बीमा, बीमांकी मूल्यांकन, दाबी व्यवस्थापन, बीमालेख सेवा समेतमा दुई दशकभन्दा लामो कार्य अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।