मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
बिर्तामोड । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सन् २०१८ को विजेता तथा साविक उपविजेता प्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ ।
चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमिफाइनलमा भिडेका थिए । जसमा फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो ।
त्यही खेलको रिम्याचको रुपमा यस पटक फ्रान्स र मोरक्को क्वाटरफाइनलमै भेट हुँदा अफ्रिकी टिम मोरक्को बदला लिने लक्ष्यसहित मैदान उत्रेको थियो ।
पहिलो हाफमा फ्रान्सलाई रोक्न सफल भएपनि दोस्रो हाफमा भने मोरक्कोले दुई गोल बेहोर्यो ।