बिर्तामोडमा रोजगार मेला लाग्दै, बेरोजगारले लाभ लिन सकिने
बिर्तामोड । बिर्तामोडमा आगामी जेठ ३० र ३१ गते दुई दिने 'रोजगार मेला' आयोजना हुने भएको छ । बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा उक्त मेला हुन लागेको हो ।
मेलाको तयारी र प्रभावकारिताका विषयमा आज नगरपालिकाले सरोकारवाला पक्षहरूसँग वृहत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ ।
छलफल कार्यक्रममा बोल्दै मेलाका सहजकर्ता सेवक बजगाईले रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूका लागि यो मेला निकै महत्त्वपूर्ण बन्ने बताए । उनका अनुसार मेलामा विभिन्न उद्योग, व्यवसाय र कम्पनीहरूका २५ वटा स्टलहरू रहनेछन् भने मेलामा २ हजारभन्दा बढी युवाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
नगरपालिकाका अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षित, अशिक्षित, दक्ष तथा अदक्ष सबै नागरिकका लागि यो मेला लाभदायक हुनेछ । विशेषगरी भर्खरै औपचारिक शिक्षा पूरा गरेका विद्यार्थी, औपचारिक शिक्षाका साथै विशेष सीप भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्केका सीपयुक्त नागरिक र वैकल्पिक समयमा काम गर्न चाहने व्यक्तिहरू मेलामा सहभागी हुन सक्नेछन् ।
कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस मेलाबाट रोजगारदाताले आफ्नो आवश्यकता अनुसारका दक्ष कामदार पाउने र बेरोजगार व्यक्तिहरूले योग्यता अनुसारको काम पाउने विश्वास व्यक्त गरिन् । छलफलमा सहभागी उद्योगी तथा सरोकारवालाहरूले स्थानीय स्तरमा दक्ष कामदार नभेटिँदा बाध्य भएर भारतीय कामदारहरू ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यो मेलाले उक्त बाध्यता अन्त्य गर्न सघाउने आशा व्यक्त गरेका छन् ।
दुई दिनसम्म चल्ने उक्त रोजगार मेला बिर्तामोडस्थित अतिथि सदनमा आयोजना गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।