हेटौंडामा सम्पन्न बक्सिङ प्रतियोगितामा एक्स थ्रीका खेलाडी अञ्जन बने प्रथम
बिर्तामोड । मकवानपुरको हेटौंडामा सम्पन्न बक्सिङ प्रतियोगितामा एक्स थ्रीका खेलाडी अञ्जन मल्ल ठकुरी प्रथम बनेका छन् । मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा सम्पन्न अल नेपाल ओपन यु २२ बक्सिङ च्याम्पियनसिप प्रतियोगितामा ठकुरी प्रथम बनेका हुन् ।
जेठ १३ देखि १६ गतेसम्म हेटौँडा कभर्ड हलमा सञ्चालन भएको खेलमा झापाको अर्जुनधारा ११ नयाँ बसपार्कस्थित एक्स थ्री बक्सिङ क्लबका खेलाडी ठकुरीले ६५ केजी तौल अन्तर्गत गोल्ड मेडल जित्न सफल बनेको एक्स थ्री बक्सिङ क्लबकी प्रबन्ध निर्देशक जोया सुब्बाले जानकारी दिइन् ।

त्यस्तै झापाबाटै प्रतिनिधित्व गर्ने काँकरभिट्टाका प्रतिक गौतम दोस्रो र दमकका युवराज भट्टराई तेस्रो बनेका थिए ।
विजेताहरुलाई नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दिपक लामा, मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष सुशिल घिमिरेलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा झापाबाट पाँच जनाले सहभागिता जनाएका थिए । एक्स थ्रीका कोच डम्बरबहादुर लिम्बुले खेलाडीहरुको संयोजन गरेका थिए ।