२०८३ जेष्ठ १३ गते , बुधबार

अर्जुनधारा ५ सेमिफाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १२ गते , मंगलबार
अर्जुनधारा ५ सेमिफाइनल प्रवेश

झापा । अर्जुनधारा–५ वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो क्वाटरफाइनल खेलमा वडा नम्बर २ लाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ५ सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको हो । यसअघि हिजो सम्पन्न पहिलो क्वाटरफाइनल खेलबाट वडा नम्बर ११ सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको थियो ।
अर्जुनधारा–९ स्थित नमुना खेलमैदानमा निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाईब्रेकरमार्फत गरिएको थियो ।
टाईब्रेकरमा वडा नम्बर ५ का निशान वि.के., विपिन गजमेर र प्रविन वास्केले गोल गरे । वडा नम्बर २ का विशाल नेपाल र प्रनिश लिम्बूले मात्रै गोल गर्न सफल हुँदा टोली हारबाट जोगिन सकेन ।
टाईब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ५ का गोलरक्षक प्रविन वास्के ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा–८ का वडाध्यक्ष कुमार प्रसाद उप्रेती तथा अर्जुनधारा–५ का वडाध्यक्ष गिताराज खड्काले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताअन्तर्गत भोलि तेस्रो क्वाटरफाइनल खेल हुनेछ । भोलिको खेलमा अर्जुनधारा–८ र अर्जुनधारा–९ आमनेसामने हुने आयोजक समितिका सदस्य–सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
प्रतियोगितामा अर्जुनधाराका ११ वटै वडाको सहभागिता रहेको छ । वडा स्तरमा खेलाडी उत्पादन तथा नगर स्तरीय टोली निर्माणका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्ने समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
गोलधाप युवा क्लब सह–आयोजक रहेको प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने जनाइएको छ ।

सम्बन्धित समाचार