ओलीको संसद यात्रामा ‘ब्रेक’ लाग्ने सम्भावना प्रबल
बिर्तामोड । वि.सं. २०४८ सालमा बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्था स्थापित भएयता ६ पटक संसदको यात्रा गरिसकेका नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली (केपी)को संसद यात्रामा यस पटक भने ‘ब्रेक’ लाग्ने प्रवल सम्भावना रहेको छ ।
ओली वि.सं. २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विश्वदीप लिङ्देनसँग झापा निर्वाचन क्षेत्र नम्बर ७ मा पराजित भएका थिए । त्यसबाहेक २०४८ मा झापा ६, २०५१ मा झापा ६, २०५६ मा झापा २, २०७० मा झापा ७, २०७४ र २०७९ मा झापा ५ बाट उनी प्रतिनिधीसभा सदस्यमा निर्वाचित भइसकेका छन् । नेकपा एमालेको ०७२ मा भएको आठौ महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली त्यसयता भएका दुई वटा महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छन् । एमालेको २०७८ सालमा भएको पहिलो विधान महाधिवेशनले गरेको अध्यक्षका लागि ७० बर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था ७४ बर्षीय ओली तेस्रो पटक अध्यक्ष बन्नकै लागि २०८२ भदौ २३ गते दोस्रो विधान महाधिवेशनमार्फत संशोधन गरी सो उमेर हद र दुई कार्यकालको व्यवस्था हटाएको थियो ।
वि.सं. २०७२ असोज २६ गते पहिलो पटक प्रधानमन्त्री बनेका ओली चार पटक प्रधानमन्त्री बनिसकेका छन् । पछिल्लो पटक भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका कारण उनी भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।
यसरी निरन्तर २८ बर्ष राजकीय पदमा बसेका ओलीलाई यस पटकको निर्वाचनले भने विश्राम दिने सम्भावना छ । यस अघि झापा ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको लौरो टेकेर संसद यात्रा गर्दै आएका ओलीलाई यस पटक राप्रपाले सहयोग नगर्ने भएपछि एक्लिएका छन् । राप्रपाको बलियो पकड भएको झापा ५ मा राप्रपाले आफ्नै उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलालाई अघि सारेको छ । राप्रपाको साथ नपाएपछि एमाले सो क्षेत्रमा कमजोर बनेको छ । चुनावी तालमेलका लागि ओलीले गरेको आग्रह अन्य दलहरुले अस्वीकार गरेपछि उनी झनै अप्ठ्यारोमा परेका छन् ।
एकातिर राप्रपाले साथ छोडेको छ भने अर्कातिर रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको बालेन्द्र शाह (बालेन) उनका प्रतिष्पर्धी छन् । पछिल्लो समय एमाले सत्तामा हुँदा रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा दिएको दुःखको परिणाम एमालेलाई झापा ५ बाट भोगाउने दाउमा रास्वपा रहेको छ । युवाहरुमाझ क्रेज बनाएका बालेनको सोहि क्षेत्रबाट उम्मेदवारी हुनु एमालेलाई फलामको चिउरा झैं भएको छ । अध्यक्ष जिताउन एमालेले सारा शक्ति सोहि क्षेत्रमा परिचालन गरेको छ ।
ओलीका लागि अर्को चुनौती स्थानीय युवा नेता रञ्जित तामाङ हुन् । भक्तपुरबासी ओलीका लागि स्थानीयबासी तामाङको उम्मेदवारीले पराजयका लागि थप सहयोग गर्ने देखिन्छ । विद्यार्थी राजनीतिबाट उदाएका तामाङ प्रखरवक्ता, युवाहरु माझ लोकप्रिय र उदीयमान भावी नेतृत्वको रुपमा परिचित छन् । दुई हेभीवेटको जुधाईको बिचबाट राजनीतिमा बेदाग तामाङ आफु गोल गर्ने दाउमा छन् । तत्कालिन नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा जारी भएको पछिल्लो संविधानको पूर्ण कार्यान्वयन, संविधान संशोधनमार्फत जनतालाई थप अधिकार प्रत्यायोजन र जसको नीति उसैको नेतृत्व जस्ता जनस्पर्शी प्रतिबद्धता बोकेर हिँडेका तामाङ पछिल्लो समय युवाहरुले खोजेको नेतृत्व परिवर्तनका एक युवा प्रतिनिधी हुन् ।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रममा सत्ताधारी एमालेले खेलेको भूमिका, प्रधानमन्त्रीको अहंकारका कारण सो अवधिमा बालबालिकासहित दर्जनौँ नागरिकले ज्यान गुमाउनु परेको हृदयविदारक घटनाका कारण एमाले आलोचित छ । वि.सं. २०७२ सालमा भारतले नेपालमा लगाएको नाकाबन्दीको समयमा राष्ट्रवादी छवि बनाएका ओली स्वयम् पछिल्लो समय आलोचनाका पात्र बनेका छन् । पार्टीप्रति निराश बनेका मतदाता यस पटक मत परिवर्तनको मुडमा छन् । पार्टी नछाड्ने तर मत परिवर्तन गर्ने सोँचमा रहेका कार्यकर्ता भोट संख्या गनेर बसेको एमालेका लागि चुनौती देखिन्छ ।
गत मंसिर २७ देखि २९ सम्म भएको एमालेको ११औँ महाधिवेशनबाट किनारामा पुगेका नेता र उनीहरुका शुभेच्छुक अध्यक्ष ओलीको संसद यात्रामा ब्रेक लगाउने अर्को तत्व रहेको छ । सँधै आफ्नालाई काखा र अर्कालाई पाखा राख्ने नेतृत्वसँग रुष्ट बनेका उनीहरुको भूमिका ओलीका लागि प्रत्युत्पादक बन्ने खतरा छ । यदि यो निर्वाचनमा अध्यक्ष ओलीले पराजय भोग्नु परे राजनीतिक जीवनबाट विश्राम लिने सम्भावनापनि उत्तिकै छ ।