नौ महिना मै सरुवा भए मेची भन्सार प्रमुख चुँडाल

बिर्तामोड । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालको सरुवा गरिएको छ । नौ महिना कै अवधिमा चुँडालको सरुवा गरिएको हो ।
विशेष परिस्थिति नपरेसम्म उपसचिव तहको कार्यालय प्रमुखलाई दुई बर्से कार्यकाल पूरा गरेपछि मात्र सरुवा गर्नुपर्ने निजामती सेवा नियमावलीमा उल्लेख छ । तर राजस्व संकलनसँग जोडिएको भन्सार प्रमुखलाई नौ महिनामै सरुवा गर्नुको कारण भने उल्लेख गरिएको छैन ।
चुँडाललाई तातोपानी भन्सार कार्यालयमा सरुवा गरिएको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराइले उनको सरुवा गरेको पुष्टि गरे ।
चुँडाल गत भदौमा मेची भन्सार कार्यालयमा सरुवा भएर आएका थिए ।
मेची र विराटनगर भन्सार कार्यालय बेलाबेलामा सुपारी, केराउलगायतका वस्तुको आयात÷निर्यातमा विवाद हुने गरेको छ ।
सरकारले आयात निर्यात खोल्ने र बन्द गर्ने नीति अपनाएकाले पनि सुपारीको विषय विवादमा पर्दै आएको हो ।