राष्ट्र बैंकको गभर्नरमा डा. शिवराज अधिकारीको चर्चा

झापा । नेपाल राष्ट्र बैंकको १९औं गभर्नर को बन्ला भन्ने चासो वित्तीय क्षेत्रमा व्यापक रूपमा रहेको छ । चियादेखि ठूला बैठकमा समेत व्यवसायीहरु बिच गभर्नरको चर्चा हुने गरेको छ । नेपाल राष्ट्र बैंकको १९औं गभर्नर यो वा त्यो बन्ला भनेर थुप्रै अड्कलबाजी चलिरहेका छन् ।
नेतादेखि ठूला व्यापारीसम्म आफु निकटका व्यक्तिलाई गभर्नर बनाउने खेलमा समेत लागेका छन् । सत्ता घटक नेपाली कांग्रेसका केही पदाधिकारीले चाहिं आर्थिक क्षेत्रमा आफ्नो दलको दह्रो उपस्थिति नभएकाले जसरी पनि योग्यतम् व्यक्ति गभर्नर पद हात पार्नु पर्छ भनेर प्रयत्न गरेको नेताहरु बताउँछन् । तर, कांग्रेसका केही नेताहरूले गुटगत रूपमा गभर्नरका लागि आफू अनुकूलका व्यक्तिहरू बोक्दै चर्चामा ल्याएको समेत पाइन्छ ।
जसमा महामन्त्री गगन थापाको उम्मेदवार रामेश्वर खनाल र गृह मन्त्री रमेश लेखकले सुदूरपश्चिमकै व्यक्ति नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अगाडि सारेको कांग्रेस स्रोत बताउँछ ।
तर, नेपाल राष्ट्र बैंकको १९औं गभर्नर को बन्दैछ भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले भित्री रूपमा तय गरिसकेको प्रधानमन्त्री निवास बालुवाटार स्रोत बताउँछ ।
विशेष स्रोतका अनुसार, हाल बजारमा आएका नामहरू भन्दा फरक र सम्भावित भावी गभर्नर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारी हुन् । अधिकारी उपाध्यक्ष भन्दा पहिला योजना आयोगका सदस्य समेत रहेका थिए ।
पाल्पाका अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि उनले जिम्मेवारी सम्हालिसकेका छन् । तीनजनाको नाम सिफारिस हुँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीको नाम सिफारिस भयो भने निश्चित छ नेपाल राष्ट्र बैंकको १९औं गभर्नर उनै बन्ने पक्कापक्की छ ।
हालका गभर्नर महाप्रसाद अधिकारीको पदावधि चैत्र २३ गते सकिँदैछ ।