झापामा उपस्थिति बढाउँदै माओवादी अध्यक्ष प्रचण्ड, फागुन ३ मा दमक आउने

बिर्तामोड । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले झापामा आफ्नो उपस्थिति बढाउँदै लगेका छन् । आगामी फागुन ३ गते झापाको दमकमा हुन लागेको पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्न उनी दमक आउन लागेका हुन् ।
नगर अधिवेशन उद्घाटनपूर्व दमकको मुख्य चोकमा आयोजित सभालाई समेत अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको जिल्ला अध्यक्ष राजु आचार्य (अग्नी)ले जानकारी दिए ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीको गृह जिल्लामा पछिल्लो समय प्रचण्डको बाक्लो उपस्थितिलाई लिएर राजनीतिक वृत्तमा चर्चा शुरू भएको छ । केही समय अघि बिर्तामोड र गौरीगञ्जमा भएको पार्टीको कार्यक्रममा सहभागी भएका प्रचण्ड दमक पछि फागुन १२ गतेदेखि पार्टीले सञ्चालन गर्न लागेको हुलाकी मार्ग केन्द्रित अभियानको उद्घाटनका लागि कचनकवल आउने कार्यक्रम तय भएको जिल्ला इन्चार्ज रञ्जित तामाङले जानकारी दिए । लगत्तै उनी बाह्रदशी र झापा गाउँपालिकामा हुने कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।