माओवादी नेताहरूको जिम्मेवारी हेरफेर, झापा इन्चार्जको जिम्मेवारी रन्जित तामाङलाई

बिर्तामोड । नेकपा माओवादी केन्द्रको पछिल्लो बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार १ नम्बर प्रदेश इञ्चार्जमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत राखिएको छ ।
यस्तै प्रदेशको सहइञ्चार्जहरुमा सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, धर्मशीला चापागाई र सुरेशकुमार राईलाई तोकिएको छ ।
प्रदेश अन्तर्गत जिल्ला इञ्चार्जहरुमा केहि परिवर्तन भएको छ । झापामा इन्चार्जको जिम्मेवारी युवा नेता रञ्जित तामाङलाई दिइएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका तामाङ पार्टीका केन्द्रीय सदस्य हुन् । यस अघि झापा इन्चार्जको जिम्मेवारी प्रदेश पूर्वमन्त्री झलकसिंह दर्लामी (संदेश)ले सम्हाल्दै आएका थिए ।
त्यस्तै ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, पाँचथरमा सितादेवी थेवे, इलाममा धिरेन्द्र शर्मा, मोरङमा कुलप्रसाद साम्बा लिम्बु, सुनसरीमा अनिता परियार, धनकुटामा धनकुमारी बिक र तेह्रथुममा होमकुमारी खापुङलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । संखुवासभामा रिपुकुमार राई, भोजपुरमा नगेन्द्र राई, सोलुखुम्बुमा हेमकुमार राई, ओखलढुंगामा चम्पा कार्की, खोटाङमा समिता कार्की र उदयपुरमा मणि खम्बु किराँतीलाई इञ्चार्ज तोकिएको छ ।
यस्तै झापाका अर्का युवा नेता बिरेन्द्र बस्नेतलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । यस अघि उनी प्रदेश सदस्य थिए ।