२०८३ बैशाख १९ गते , शनिबार
दुर्घटनामा बालकको मृत्यु भए पछि फरार चालक पक्राउ
बिर्तामोड । झापाको कनकाई नगरपालिकामा बालकलाई मोटरसाइकलले ठक्कर दिएर फरार भएका कन्काई–५ मुस्लिम टोलका २३ वर्षीय अजत मियालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति ११ बजे बाह्रदशीको चकचकीबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
हिजो बिहान १०:४० बजे कनकाई–५ तल्लो चप्रामारीस्थित भित्री कच्ची सडकखण्डमा मियाले चलाएको मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेका सोही ठाउँ बस्ने बिनोद पाठकका ७ वर्षीय छोरा सोहनलाई ठक्कर दिएको थियो । घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि मोटरसाइकल चालक मिया फरार भएका थिए । मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।