स्वास्थ्य बीमाको प्रिमियम १० हजार बनाउने तयारी
झापा । सरकारले स्वास्थ्य बीमाबाट हुने उपचार रकमको दायरा बढाउने तयारी गरेको छ । सरकारी निकायबाट स्वास्थ्य बीमा उपचारको दायरासँगै बीमाको प्रिमियम रकम बढाउने देखिएको छ ।
नौ वर्ष यता पाँच जना सदस्य रहेको परिवारले वार्षिक ३५ सय रुपैयाँ प्रिमियम रकम तिरेर एक लाख रुपैयाँसम्मको औषधि उपचार गराउँदै आएका थिए । तर पछिल्लो पटक सरकारले स्वास्थ्य बीमा उपचारको रकम पाँच लाख रुपैयाँ र्पुयाउने तयारीसँगै १० हजार प्रिमियम हुन सक्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
हाल सरकारले दिँदै आएको वार्षिक एक लाखको स्वास्थ्य उपचार रकमको प्रिमियम वार्षिक ७ हजार रुपैयाँ हुनुपर्ने बोर्डका सूचना अधिकारी विकेश मल्ल बताउँछन् । ‘बीमाको सिलिङमा हेर्नु र्पयो, ३५ सय रुपैयाँमा सम्भव छैन,’ उनले भने, ‘विज्ञले नै १ लाख रुपैयाँ उपचार सुविधामा ७ हजार तिर्नुपर्छ भनेका छन् । उपचार सुविधा पाँच लाख रुपैयाँको भनेर ल्याएपछि १० हजार रुपैयाँ जति प्रिमियम हुनुपर्छ भनेका छौँ ।’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा उपचारको रकम पाँच लाख रुपैयाँ र्पुयाउने सार्वजनिक प्रतिवद्धता जनाएसँगै सरकार यसको तयारीमा लागेको हो । स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्ने हिसाबले सुझाव दिन डाक्टर शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरी कार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।