दुर्घटनापछि ३ घण्टा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
बिर्तामोड । झापाको कमल गाँउपालिका वडा नम्बर ५ रबि पेट्रोल पम्प स्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटनामा मानिसको मृत्यु भएपछि ३ घण्टा सडक अवरुद्ध बनेको छ । शनिबार बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित भीडले सडक अवरोध गरेका हुन् ।
शनिबार दिउँसो १२:३० बजे दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश न.१-०१-००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा यात्रुबाहक बसले सोही दिशा तर्फ आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोरङ केराबारी गाँउपालिका वडा नम्बर ७ बस्ने बर्ष अन्दाजी ५५ को पदम मुकारुम राईको घटनास्थलमै मृत्यु भएको थियो ।
राईको घटनास्थलमा नै मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले सडक अवरुद्ध गर्नुका साथै बसमा तोडफोड र आगजनी समेत गरेको प्रहरीले जनाएको छ ।
पूर्व-पश्चिम राजमार्ग अवरुद्ध बनेपछि वैकल्पिक मार्गबाट सवारी सुचारु गरिएको थियो भने ३:३० बजेदेखि सडक अवरोध अन्त्य भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
बस, बस चालक जिल्ला झापा गौरादह नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३५ को संजय नेपाली इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।