चार दिनमा कोशीका ४४ जना सडक मानवको उद्वार
बिर्तामोड । सडकपेटीमा आश्रय लिँदै आएकाहरु मध्ये कोशी प्रदेशबाट ४४ जनाको उद्वार गरिएको छ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्वार यात्राअन्तर्गत उनीहरुको उद्वार गरिएको हो ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ शुरु गरिएको उद्वार यात्राअन्तर्गत मेचीनगर नगरपालिकाबाट ४ जना, बिर्तामोड नगरपालिकाबाट २ जना, कन्काई नगरपालिकाबाट २, शिवसताक्षी नगरपालिकाबाट २, दमक नगरपालिकाबाट २ गरि झापाबाट १२ जना, बेलबारी नगरपालिकाबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जना र विराटनगर महानगरपालिका १ गरि मोरङ जिल्लाबाट ४ जना, दुहबी नगरपालिकाबाट १ जना, इटहरी उपमहानगरपालिकाबाट ७ जना, धरान उपमहानगरपालिकाबाट ४ जना गरि सुनसरी जिल्लाबाट १२ जना र बेलका नगरपालिकाबाट ६ जना, चौदन्डीगढी नगरपालिकाबाट ७ जना, त्रियुगा नगरपालिकाबाट १ जना, कटारी नगरपालिकाबाट २ जना गरि उदयपुर जिल्लाबाट १६ जनाको उद्वार गरिएका मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
असोज २८ गते पूर्वको मेचीनगरनगर नगरपालिकाबाट सुरु भएको यात्राको चौथोदिन कार्तिक १ गतेसम्मको अवधिमा उदयपुरको गाईघाटसम्म आइपुग्दा ३५ जना पुरुष र ९ जना महिलाको उद्वार गरिएको उनले जानकारी दिए ।
उद्वार यात्रा ३२ दिनसम्म सञ्चालन हुने बताइएको छ । यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरू रहेका छन् । मानवसेवा आश्रम विगत १२ वर्षदेखि सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्वार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउँदै मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था भएको बताइएको छ ।