गणेश पाञ्चायन मन्दिरको शिलालेख अनावरण तथा दाता सम्मान सम्पन्न
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी टोलमा निर्माण भएको गणेश पाञ्चायन मन्दिरको शिलालेख अनावरण गरिएको छ । शुक्रबार मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बिच शिलालेख अनावरण गरिएको हो ।
श्री सिद्धिविनायक भजन किर्तन मण्डलीको अगुवाईमा निर्माण गरिएको मन्दिरमा आर्थिक तथा भौतिक सहयोग गर्ने दाताहरु, संस्थापक समिति, निर्माण समिति, सल्लाहकार समिति, संस्थापक सदस्यहरुको नामावली समावेश गरिएको उक्त शिलालेख मण्डलीकी अध्यक्ष गितादेवि भण्डारी पोखरेल, कार्यक्रमका प्रमुख अतिथी तथा जग्गादाता गुरुप्रसाद ओझा लगायतले शिलन्यास गरेका थिए । बडादँशैको नौ दिनसम्म मन्दिरमा गरिएको पाठपारायणको पूर्णआहूतिको अवसरमा शिलालेख शिलन्यास गरिएको मण्डलीकी अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

सोहि कार्यक्रममा मन्दिरका लागि मेचीनगर नगरपालिका वडा नम्बर १० निवासी बुद्धराम महाबिर प्रसाद अग्रवालले ५१ हजार १११ रुपैँया आर्थिक सहयोग गरेका थिए । दाता अग्रवाललाई मण्डलीकी अध्यक्ष भण्डारी, मेघाबारी टोल विकास संस्थाका सल्लाहकार रोमनी भट्टराईलगायतले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।