गलत कार्य भए सूचना दिनुहोस, कारबाही गर्छौँ– जिल्ला प्रहरी प्रमुख केसी
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जिल्लामा अपराधजन्य तथा अवैध गतिविधि हुन नदिने बताएका छन् । झापाको बिर्तामोडस्थित अतिथीसदनमा आयोजित नागरिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक केसीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
केसीले झापाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताए । ‘नागरिकको सुरक्षाका निम्ति हामी अहोरात्र खटेका छौँ,’ उनले भने, ‘कुनै गलत गतिविधि भएको सूचना भए दिनुहोस तत्काल कारबाही गरी कानुनी दायरामा ल्याउँछु ।’ उनले चाडपर्वमा चोरीनिकासी जस्ता अवैध गतिविधि बढि हुने भन्दै नागरिकको सुरक्षा, सहजता र सुविधाका लागि एकिकृत सुरक्षा योजना बनाएको बताए ।
लागूऔषध नियन्त्रणका लागि प्रहरीले समुदायस्तरमा समेत काम गरिरहेको उनको भनाई थियो । अपराध न्यूनीकरणमा प्रहरी एक्लै पर्याप्त नहुने भन्दै नागरिकहरुको समेत सहयोग आवश्यक हुने उनले बताए ।
प्रहरीप्रति जनअपेक्षा संकलनका लागि आयोजित कार्यक्रममा गणेश कोइराला, संगीता गिरी, मेनुका ओली,m युवराज निरौला, हरि बास्कोटा, रोजिना पाण्डे, प्रेमा भट्टराई, सञ्चारकर्मी प्रदिप परियार र पुष्प खड्काले जिज्ञासा तथा सुझाव राखेका थिए ।
नागरिकबाट आएका जिज्ञासाहरुको बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा कार्यक्रमका अध्यक्ष प्रहरी उपरीक्षक केसी, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका कार्यबहाक प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख उपअनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहआयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई इप्रका अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले स्वागत गरेका थिए भने प्रहरी निरीक्षक विद्यासागर मेहताले सञ्चालन गरेका थिए ।