इलाम बजार–राजदुवाली बैकल्पिक मार्गको खोजी
बिर्तामोड । निरन्तरको बर्षाले सडक भासिएपछि इलाम बजार पुग्ने सडकको विकल्प खोज्न शुरु गरिएको छ । माइखोला मास्तिर भासिएको सडक बनाउने क्रममा थप बाटो बिग्रिएर गाडी कुद्नै नहुने भएपछि मर्मत रोकेर विकल्प खोज्न शुरु गरिएको हो ।
राजमार्गमा अझै माथिपट्टि धाँजा फाटेर जोखिम बढेपछि शनिबार साँझदेखि सडक मर्मतको काम रोकिएको छ ।
आज प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, उद्योग वाणिज्य संघ, जनप्रतिनिधी लगायतको टोली बैकल्पिक मार्ग सञ्चालनका लागि फिल्डमा खटिएका हुन् ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जोखिमको अवस्था हेरेर मात्र मर्मत थालिने जानकारी दिए । ‘तत्काल मर्मतलाई निरन्तरता दिनेभन्दा पनि अवस्था हेरेरमात्र अघि बढ्नेछौं,’ उनले भने, ‘जति काम गर्दैगयो, उति माथिपट्टि धाँजा फाटेर जोखिम बढेकाले काम गर्नै समस्या भएको छ ।’
तत्काललाई वैकल्पिक सडक नै खोज्नु उत्तम उपाय भएकाले सिमलगोलाई–जोगमाई–तिल्केनी सडक निरीक्षण भइरहेको भट्टराइले जानकारी दिएका छन् । तत्काललाई चाँडो गाडी चल्ने सडक बनाउनतिर लागेको उनले बताए ।
सडक डिभिजन सडक कार्यालयका इन्जिनियर विपिन ढुंगानाका अनुसार डिभिजनले सो क्षेत्रको मर्मत गर्ने प्रयास जारी राखेको भएपनि तत्काल काम सम्पन्न हुने अवस्था देखिएको छैन । मेची राजमार्गबाट भएपनि वैकल्पिकबाट भएपनि सकेसम्म चाँडै सवारी चलाउन प्रयत्न गरिरहेको उनले बताए ।
मेची राजमार्गको इलाम राजदुवालीमाथिको खण्ड पूर्ण रूपमा क्षति भएपछि सवारी साधन तीन दिनयता ठप्प छन् । आइतबार काम सक्ने लक्ष्सहित मर्मत सुरु गरिएकोमा मर्मत गरेभन्दा माथिल्लोपट्टिबाट झनै ठूलो पहिरो आउने सम्भावना बढेपछि काम स्थगित गरिएको हो ।
करिब ३० मिटर राजमार्गमा पहिरो गएपछि मेचीको ‘लाइफ लाइन’ टुटेको छ । योसँगै झापासँग इलाम, पाँचथर र ताप्लेजुङको यातायात सम्पर्क छिनेको छ । वैकल्पिक मार्गमा जसोतसो साना सवारी गुडेपनि मालबाहक सवारी साधन चल्ने अवस्था छैन ।
चाडपर्व नजिकिएसँगै यात्रुहरुको चाप बढेको बेला सडक सञ्जाल तोडिँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ भने मालबाहक सवारी साधन कुद्ने अवस्था नहुँदा खाद्यान्न ढुवानीमा समेत समस्या बनेको छ ।